काठमाडौं । पर्यटन व्यवसायीले कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले सहजीकरण गर्नुपर्ने र पर्यटन क्षेत्र चलायनमा बनाउन आवश्यक सहयोग गर्नुपर्ने माग गरेका छन्।
२८ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई होटल संघ नेपालका अध्यक्ष सृजना राणा, महासचिव साजन शाक्य, संघका सीईओ टेकबहादुर महतसहितका टोलीले ज्ञापन पत्र बुझाएको हो।
कोभिड–१९ को विशेष परिस्थिति र पर्यटक आगमनको अनिनिश्चितताले गर्दा तत्काल पर्यटन पुनरुत्थान सम्भव नभएको व्यवसायीहरुले बताएका छन्। उनीहरुले व्यवसाय खर्चहरू धान्न नै नसक्ने अवस्थामा पुगेको बताएका छन्।
पर्यटन पूर्व लयमा फर्कन चारदेखि पाँच वर्ष लाग्न सक्ने विज्ञहरूको राय भएको हुँदा पूर्व भार र व्ययसमेत समायोजन गर्ने गरी दुई वर्षको लागि होटल क्षेत्रलाई विद्युत् महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिनु पर्ने, २४ सै घन्टा एउटै दर कायम नराखी निश्चित समयमा स्तरीय विद्युत् दर र अन्य समयमा सहुलियत दरको सुविधा टाइम अफ डेको व्यवस्था हुनुपर्ने व्यवसायीको माग छ।