Logo

पर्यटक क्वारेन्टाइनको मापदण्डप्रति डब्ल्यूटीटीसीको कडा चेतावनी, भन्यो-यसले पर्यटन क्षेत्र ध्वस्त हुन्छ

पर्यटक क्वारेन्टाइनको मापदण्डप्रति डब्ल्यूटीटीसीको कडा चेतावनी, भन्यो-यसले पर्यटन क्षेत्र ध्वस्त हुन्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वर्ल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिल (डब्ल्यूटीटीसी) ले विभिन्न देशले आफ्नो देशमा पर्यटक प्रवेशका लागि लागू गरेका क्वारेन्टाइनलगायतका मापदण्डले पर्यटन क्षेत्र नष्ट हुने चेतावनी दिएको छ ।

पछिल्लो समय बेलायत सरकारले ल्याउन लागेको नयाँ होटल क्वारेन्टाइन मापदण्ड जारी गरेसँगै डब्ल्यूटीटीसी सो मापदण्डका कारण ट्राभल क्षेत्रका साथै पर्यटन क्षेत्र पूर्ण पतन हुने बताएको हो ।

विश्वव्यापी ट्राभल एण्ड टुरिज्मको निजी क्षेत्रको प्रतिनिधित्व गर्ने डब्ल्यूटीटीसीले बेलायतको सरकारले विचार गरेको नयाँ प्रस्तावको अप्ठ्यारो असरले ब्रिटेनको अर्थव्यवस्थामा करीव २ सय अर्ब डलर योगदान गर्ने क्षेत्रलाई अपूरणीय क्षति हुने उल्लेख गरेको छ ।

डब्ल्यूटीटीसीका अनुसार बेलायतले प्रस्तुत गरेको मापदण्डमा थप नौ महिना विभिन्न यात्रा प्रतिबन्धहरू रहेका छन् । जसले ट्राभल र पर्यटन क्षेत्रसम्बद्ध अन्य धेरै व्यवसायहरूलाई समेत असर पार्ने छ । कोरोना महामारीका कारण लाखौं रोजगारी गुमेको, जोखिममा रहेको अवस्थामा थप कडा मापदण्डले पर्यटकलाई यात्रामा निस्कन निरुत्साहित बनाउने डब्ल्यूटीटीसीको धारणा छ ।

डब्ल्यूटीटीसीका अध्यक्ष तथा सीईओ, ग्लोरिया गुएवाराले भनेका छन्–‘ट्राभल एण्ड टुरिज्म क्षेत्र अहिले अस्तित्वको लागि संघर्ष गरिरहेको छ र यो नाजुक अवस्थामा होटल क्वारेन्टाइनको मापदण्डले ट्राभल एण्ड टुरिज्म क्षेत्र पूर्णरुपमा ध्वस्त हुन सक्छ । यात्रु र छुट्टी मनाउनेहरू यो अवस्थामा यात्रामा निस्कने छैनन् । किनकी होटल क्वारेन्टाइका कारण पर्यटकले एकातिर केही दिन यतिकै बिताउनुपर्नेछ भने होटलमा क्वारेन्टाइकै लागि अलग्गै थप पैसा तिर्नुपर्नेछ । यसले पर्यटन क्षेत्रमा ठूलो गिरावट आउने देखिन्छ ।’

अर्कोतर्फ पर्यटकहरु यात्रामा नस्किएपछि एयरलाइन्स, ट्राभल एजेन्टहरू, ट्राभल कम्पनीहरू, होटल, रेष्टुराँलगायतका व्यवसायहरुमा पर्ने असर थप विनाशकारी हुनेछ र आर्थिक सुधारमा ढिलाइ हुने डब्ल्यूटीटीसीको दाबी छ ।

डब्ल्यूटीटीसीले लामो क्वारेन्टाइको विकल्पमा यात्रुको प्रस्थानपूर्व परीक्षणको प्रमाण, छोटो क्वारेन्टाइन र आवश्यक परेमा अर्को परीक्षणले कोरोनाको खतरा रोक्न सकिने र यात्रुहरुले पनि स्वतन्त्र र सुरक्षित यात्राको अनुभुति गर्न सक्ने बताएको छ । ‘आइसल्याण्ड जस्ता धेरै देशहरूले पर्यटकका लागि ढोका खुला गर्दै सफलतापूर्वक आगमनको क्रममा परीक्षण प्रणाली लागू गरेका छन्, जसले भाइरसको प्रसारलाई रोक्न सकेको छ । पक्कै पनि यो महत्वपूर्ण र उपयुक्त छ’, डब्ल्यूटीटीसीले भनेको छ ।

अहिलेको अन्धकारको बाबजुद पनि आशावादी रहेको बताउदैं डब्ल्यूटीटीसीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त परीक्षण प्रणाली, खोपहरू र अनिवार्य मास्क लगाउने नियमका साथ पर्यटन क्षेत्र पुरानै लयमा फर्कने आशा रहेको र भविष्य उज्जवल रहेको उल्लेख गरेको छ–‘भविष्यमा फेरि व्यापारिक यात्रा, पारिवारिक घुमघाम, र छुट्टीहरूमा घुम्ने प्रवृत्ति उसैगरि फर्किने छ ।’

डब्ल्यूटीटीसील सरल तर अत्यन्त प्रभावकारी उपायहरू सही ढंगले लागू गरियो भने पर्यटन क्षेत्रको पुनरुत्थानमा मद्दत पुग्न सक्ने बताउँदै यसले ती देशहरुका साथै विश्वव्यापी आर्थिक सुधारको लागि महत्वपूर्ण आधार तयार हुने पनि बताएको छ ।

डब्ल्यूटीटीसीले महिनौंको जबरजस्ती क्वारेन्टाइनका बाबजुद कोरोना नियन्त्रण र रोकथाममा कुनै उपलब्धि हासिल भएको प्रमाण नभएको बताउँदै सरकारहरुको आफ्नै तथ्यांकअनुसार पनि क्वारेन्टाइन भाइरसको प्रसार कम गर्नमा प्रभावकारी साबित नभएको उल्लेख गरेको छ । अहिले समुदायमा रहेको भाइरसको प्रसार अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध भन्दा धेरै ठूलो खतराको रूपमा रहेको डब्ल्यूटीटीसीको दाबी छ ।
रोग रोकथाम र नियन्त्रणका लागि युरोपेली केन्द्र (इसिडिसी) का साथै अन्य प्रमुख संगठनले क्वारेन्टाइन कोरोना भाइरस रोक्न प्रभावकारी सार्वजनिक स्वास्थ्य उपाय नभएको बताएको उल्लेख गर्दै डब्ल्यूटीटीसीले क्वारेन्टाइन मापदण्डले केवल ट्राभल एण्ड टुरिज्म क्षेत्रमा अवरोध खडा गरेको बताएको छ ।

नेपालमा पनि पर्यटन क्षेत्रसम्बद्ध विभिन्न संघसंस्थाले पर्यटन क्षेत्रका लागि बाधक बनेको अनअराईभल भिसा र एक हप्ते क्वारेन्टाइन बस्नुपर्नेलगायतको व्यवस्था अविलम्ब हटाउनुपर्ने माग गरिरहेका छन् । पर्यटन व्यवसायीहरुले स्थानीय तहहरुले घुमफिरमा लगाएको प्रतिबन्ध संघीय सरकारले पहल गरेर तत्कान खुल्ला गर्नुपर्ने, नेपाल भ्रमण गर्ने पर्यटकलाई एयरपोर्टलगायत सिमा नाकामा स्वाब संकलन गरी यथाशक्य छिटो पीसीआर टेष्ट गरेर रिपोर्ट दिने व्यवस्था गरिनुपर्ने माग सरकारसमक्ष राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL