Logo

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट, बर्षभरी २ लाख ३० हजार पर्यटकले घुमे नेपाल

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट, बर्षभरी २ लाख ३० हजार पर्यटकले घुमे नेपाल



काठमाडौं । सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट १ लाख ८३ हजार १ सय ३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९ सय ५५ जना पर्यटक नेपाल आएका हुन् ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ महामारीका कारण अघिल्लो वर्षको तुलनामा ८० दशमलव ८ प्रतिशत पर्यटक आगमन घटेको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएका थिए ।

कोभिडका कारण करीब ६ महिना नियमित अन्तरराष्ट्रिय उडान प्रतिबन्ध भएकाले विदेशी पर्यटक घटेका हुन् । बन्दाबन्दीपछि गत भदौ १६ देखि अन्तरराष्ट्रिय र असोज ५ गतेदेखि आन्तरिक उडान सञ्चालनमा आएको थियो । बोर्डका अनुसार सबैभन्दा बढी भारतबाट सबैभन्दा बढी भारतबाट २५ हजार ३ सय २० पर्यटक नेपाल आएका छन् । चीनबाट ९ हजार ८ सय ८ जना, अमेरिकाबाट नौ हजार ६ सय ८२ जना, थाइल्यान्डबाट ९ हजार ५ सय १८ जना र म्यान्मारबाट ९ हजार ४ सय जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

महामारीका कारण पर्यटक आगमन घटेको बोर्डका निर्देशक मणि लामिछानेले बताए । नेपाल घुम्न बढी पर्यटक मुख्य मुलुकबाट प्रतिशतका आधारमा भारतबाट सबैभन्दा बढी १७ दशमलव पाँच प्रतिशत पर्यटक आगमन छ । म्यान्मारबाट ९ दशमलव १, थाइल्याण्डबाट ९, चीनबाट ८ दशमलव ४, अमेरिकाबाट ७ दशमलव ७ र श्रीलङ्काबाट ५ दशमलव ८ प्रतिशत पर्यटक आगमन रहेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । कोरोना महामारीले भ्रमण वर्ष नै स्थगित गर्नुपर्ने बाध्यता प¥यो । नेपालका प्रमुख १० पर्यटक स्रोत मुलुकमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड, अमेरिका, बेलायत, जापान र जर्मनी रहेका छन् । गत वर्ष १० को यो सूचीमा अष्ट्रेलिया, दक्षिण कोरिया र फ्रान्स थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL