Logo

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन् : पर्यटनमन्त्री ढकाल

पशुपतिको दर्शनविधि बुझाउन सके आन्तरिक पर्यटक बढ्छन् : पर्यटनमन्त्री ढकाल



काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले पशुपति क्षेत्रको दर्शन विधिका बारेमा राम्रोसँग बुझाउन सके आन्तरिक पर्यटकको सङ्ख्या पशुपतिमा बढ्ने बताएका छन् । आईतबार पशुपति क्षेत्रको निरीक्षण एवं दर्शनपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवं कर्मचारीलाई निर्देशन दिँदै उनले सो क्षेत्रका पुरातात्विक सम्पदाको संरक्षण गनुपर्छ र यसबाट विश्वमै नेपालको पहिचान कायम रहने बताएका हुन् । ‘पशुपति क्षेत्रलाई अझ सुन्दर र पवित्र बनाउन कोषका पदाधिकारी एवं कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ’,उनले भने ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक सबै काम गर्न कोष लाग्नुपर्नेमा जोड दिए। फूल प्रसादका पसल व्यवस्थापन एवं तिलगङ्गाको बस्ती स्थानान्तरणका काम पनि तालिका अनुसार सम्पादन गर्न उनले कोषको ध्यानाकर्षण गराए ।

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले महत्वपूर्ण पुरातात्विक सम्पदाले भरिपूण पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार नै काम हुनुपर्नेमा जोड दिएका छन् । मन्त्री ढकाललाई कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कार्यकारी निर्देशक डा घनश्याम खतिवडा लगायतका पदाधिकारी एवं कर्मचारीले हाल भइरहेका गतिविधि एवं कोरोना महामारीले पशुपति क्षेत्रमा पारेको प्रभावका विषयमा जानकारी गराएका थिए।
गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर पुस १ गतेदेखि खुला गरिएको थियो । हाल बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म भक्तजनका लागि मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनका लागि मास्क अनिवार्य गरिएको छ । मूल प्रवेशढोकामै स्यानिटाइजरको व्यवस्था गरिएको छ । दुई मिटरको दूरी कायम गरेर भक्तजन प्रतीक्षाका लागि उभिन गोलो घेरा बनाइएको छ । पुसका चिसोमा पनि बिहानदेखि दिउँसो १ बजेसम्म पाँच हजारसम्म भक्तजनले दर्शन गर्ने गरेका छन् ।

सोमबार र शनिबार भने दर्शनार्थीको सङ्ख्या बढ्ने गरेको छ । पुस १ गतेदेखि आजसम्म भक्तजनबाट रु आठ लाख ८६ हजार १८० भेटीस्वरुप प्राप्त भएको कोषाध्यक्ष थापाले जानकारी दिनुभयो । टिकट काटेर प्रवेश गर्ने विदेशी पर्यटकका लागि भने अवलोकनको व्यवस्था शुरु भएको छैन । अवस्था सामान्य भएपछि विदेशीका लागि पनि टिकट काटी प्रवेश गराइने कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL