Logo

एस्क्लुसिभ : पाँच तारे होटल ‘अन्नपूर्ण’ सदाका लागि बन्द, जग्गा बेचेर तलब दिने

एस्क्लुसिभ : पाँच तारे होटल ‘अन्नपूर्ण’ सदाका लागि बन्द, जग्गा बेचेर तलब दिने



काठमाडौं । नेपालको पुरानो पाँच तारे होटल अन्नपूर्ण सदाका लागि बन्द हुने भएको छ । लामो समयदेखि आर्थिक संकट झेल्दै आएको होटल डेला अन्नपूर्ण कोरोना पछि सदाका लागि बन्द हुने भएको हो ।

काठमाडौंको दरबारमार्गमा करिव ४० रोपानी जग्गामा फैलिएको सो होटल व्यवस्थापनले सदाका लागि बन्द गर्ने निर्णय गरिसकेको उच्च स्रोतले जानकारी दिएको छ । होटलका मुख्य लगानी कर्ता तथा नेपाल होटल एशोसिएशनका अध्यक्ष सिर्जना राणालगायतका साझेदारले आर्थिक संकट गहिरिँदै गएपछि उक्त होटल सदाका लागि बन्द गर्न लागेका हुन् ।

तत्कालिन राजा स्वर्गीय विरेन्द्र शाहको समेत लगानी रहेको सो होटल उनको निधन पछि शाहको स्वामित्वमा रहेको सम्पती नेपाल सरकारको नाममा आएको थियो । सोही अनुरुप नेपाल ट्रस्टको समेत लगानी रहेको सो होटलमा गोरख राणा, कुमार गोरख, राजेन्द्र खेतान लगायतको लगानी गरहेको छ ।

कोरोना महामारी फैलनुभन्दा अघि देखि नै आर्थिक संकट झेल्दै आएको अन्नपूर्णले कोरोनापछि अझै बढी आर्थिक भार पर्दै गएकाले होटल नै सदाका लागि बन्द गर्ने निर्णय गरेको व्यवस्थापन उच्च स्रोतले जानकारी दिएको छ ।

जग्गा तथा भवन भाडामा

व्यवस्थापनले होटल अन्पूर्ण बन्द गरे त्यहाँको भौतिक संरचना भाडामा दिने भएको छ । देशकै सबैभन्दा बढी चहलपह हुने दरबारमार्गमा रहेको करिव ४० रोपानी जग्गा तथा सोही अनुरुपमा भौतिक संरचना रहेकाले होटल बन्द भएपश्चात व्यवसायीक प्रयोजनका लागि भाडामा लगाउने तयारी भैरहेको समेत उक्त स्रोतले जानकारी दिएको छ । उक्त भवन तथा अन्य संरचना नयाँ होटललाई भाडामा दिने वा अन्य व्यवसायीक प्रयोजनका लागि दिने भन्ने विषयमा समेत छलफल भैरहेको उक्त स्रोतको दावी रहेको छ ।

कर्मचारी तलबभत्ताका लागि साढे ५ रोपनी जग्गा बिक्रीमा

आर्थिक संकटका कारण कर्मचारीलाई तलब तथा उपदान दिएर विदाई गर्नका लागि ५ रोपनी ८ आना जग्गा बिक्री गरिने भएको छ । कम्पनीका अध्यक्ष सिर्जना राणाले उक्त होटलको भाटभटेनी मनी ट्रान्सफरसँगै जोडिएको साढे ५ रोपनी जग्गा बिक्री गर्न लागेकी हुन् । ‘यसअघि अध्यक्ष राणालो भाटभटेनीसँगै जोडिएको साढे ५ रोपानी जग्गा सोही भवनका मालिकलाई बिक्री गर्न लागेका थिए,’ उक्त स्रोतले भन्यो, ‘तर उनीहरुले एकदमै सस्तो मूल्यमा जग्गा उठाउन खोजेपछि अहिले अध्यक्ष राणा नयाँ ग्राहकको खोजीमा छन् ।’

यसअघि अध्यक्ष राणाले होटल घाटामा गएको भन्दै ट्रेड युनियनका नेताहरुसँगको मिलेमत्तोमा कर्मचारीलाई उपदान नै नदिई हटाउन लागेकी थिइन । तर कर्मचारीहरु त्यसको विरोधमा उत्रिएपछि हाल जग्गा बेचेरै भएपनि कर्मचारीको बाँकी बक्यौता रकम दिएर विदाई गर्न लागेको हो ।
होटल बन्द हुनेभएसँगै होटलमा महाप्रबन्धक राजुबिक्रम शाहले राजीनामा दिएर बसेका छन् भने होटलका ४० भन्दा कर्मचारीलाई व्यवस्थापनले उपदान तथा बक्यौता रकम दिएर विदाई गरिसकेको छ । कोरोना महामारी अघि होटलमा ३ सय ८७ जना कर्मचारी कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL