Logo

यती एअरलाइन्सको सिमरा उडान सुरु, शुरुवाती भाडा १ हजार ९९९ मात्रै

यती एअरलाइन्सको सिमरा उडान सुरु, शुरुवाती भाडा १ हजार ९९९ मात्रै



काठमाडौं । निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आजदेखि सिमरा उडान सुरु गरेको छ ।

आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि आजदेखि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको ९ औं र २ नं. प्रदेशमा दोस्रो गन्तव्य हो ।

एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले उच्च सर्तकता अपनाएर आजबाट सिमरा उडान सुरु गरिएको जानकारी दिए । आज ९एन–एआईएच कल साईन भएको जेटईस्ट्रीम–४१ विमान मार्फत विहान ९.१० बजे पहिलो उडान भरेका छौं र दोस्रो उडान साँझ ४.४५ बजे हुनेछ । ‘अब सिमरा नियमित रुपले दैनिक २ उडान हुनेछन र यात्रुहरुको माग भए उडान संख्या थप गर्न सकिनेछ । उच्च सर्तकता अपनाएर उडान शुरु गरेकोले यात्रुहरुलाई ढुक्क भएर यात्रा गर्न अनुरोध छ’–प्रवक्ता बर्तौलाले भने ।

आज पहिलो दिन काठमाडौँ– सिमरा–काठमाडौँ उडान गर्ने यात्रुमध्ये गोला प्रथा मार्फत १ जनालाई निः शुल्क हवाई टिकट उपलब्ध गराईने समेत उनले बताए ।

यतीले काठमाडौँ– सिमरा–काठमाडौँको लागी प्रमोशनल शुरुवाती भाडा १ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ, जुन भोली २२ असोज देखी लागु हुने जानकारी दिएको छ । यी गन्तव्यको टिकटहरु एअरलाईन्सका सेल्स अफिस तथा मोबाईल एप्स तथा नजिकको ट्राभल एजेन्सी तथा अनलाईन मार्फत लिन सकिनेछ । केही दिन अघि आन्तरीक पर्यटन प्रबर्धनका लागी भन्दै विभिन्न गन्तव्यहरुको लागी न्युनतम मुल्यका आकर्षक भ्रमण प्याकेज ल्याएको यतीले हाल ट्राभल एजेन्सीहरु र मोबाइल एप्स मार्फत टिकट खरीद गर्दा आकर्षक उपहार प्राप्त गर्न सकिने योजना समेत अघि सारेको छ ।

विस २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हाल एटिआर–७२ पाँच, जेटस्ट्रिम–४१ पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् । यती एअरलाइन्सले हाल पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारका साथै काठमाडौँ र पोखराबाट पर्वतीय उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL