Logo

आन्तरिक उडानमा उच्च अकुपेन्सी, काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको चाप

आन्तरिक उडानमा उच्च अकुपेन्सी, काठमाडौं भित्रिने भन्दा बाहिरिने यात्रुको चाप



काठमाडौं । लामो समयपछि खुलेको आन्तरिक उडानमा यात्रुको उल्लेख्य चापसँगै एयरलाइन्स कम्पनीहरु उडान संख्या थप्न व्यस्त भएका छन् । विहीबारबाट आन्तरिक उडानको कोटा थपे पनि यात्रुको चापमा कुनै कमी नआएको एयरलाइन्स कम्पनीहरुले बताएका छन् । वायुसेवा संचालकहरुका अनुसार उडान कोटा थपिएपछि पनि यात्रुको चापमा कुनै कमी आएको छैन ।

सरकारले असोज १ गतेदेखि नै आन्तरिक उडान संचालनमा ल्याउने निर्णय गरेको थियो । तर आधा यात्रु राखेर संचालन नगर्ने भन्दै वायुसेवा संचालकहरुले पूरै सिटमा यात्रु राखेर उडाउन पाउनुपर्ने माग राखेका थिए । सरकारले व्यवसायीको मागअनुसार असोज ५ गतेदेखि पूर्ण क्षमतामा यात्रु राखेर उडान अनुमति दिएको थियो ।

तर, लकडाउन अगाडिको तुलनामा उडान संख्या भने ५० प्रतिशत मात्रै अनुमति पाएका एयरलाइन्स कम्पनीहरुले उच्च अकुपेन्सीमा उडान गरिरहेका थिए । उडान सञचालनसँगै यात्रुको चापलाई मध्यनजर गर्दै नागरिक उड्ययन प्राधिकरणले आन्तरिक उडानको कोटा थप गरेको थियो । बिहीबारबाट थपिएको कोटाअनुसार उडान संखया थपे पनि यात्रुको अकुपेन्सी अहिले पनि उच्च रहेको श्री एयरलाईन्सका प्रवक्ता अनिल मानन्धर बताउँछन् । उनका अनुसार श्री एयरले हाल विभिन्न गन्तब्यमा दैनिक १० बढी उडान भरिरहेको छ । प्रतिदिन १० उडान भरिरहे पनि श्री एयरलाईन्समा अहिले यात्रु अभाव नरहेको उनले बिजखबरलाई बताए ।

‘हामीले हाल दैनिक १० आन्तरिक उडान भरिरहेका छौं,’ उनले भने, ‘तर यात्रुको संख्यामा भने कुनै कमी छैन ।’ उनले काठमाडौंबाट बाहिर जाने यात्रुहरुको संख्या उल्लेख्य रहेपनि नेपालका अन्य गन्तव्यहरुबाट काठमाडौं भित्रिने यात्रुको संख्यामा भने केही कमी रहेको बताए ।

यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अपरेशन निर्देशक तथा प्रवक्ता देवचन्द्र लाल कर्ण पनि प्रत्येक दिन यात्रुको संख्यामा उल्लेख्य वृद्धि भईरहेको बताउँछन् । आन्तरिक हवाई उडानको कोटा थपिएपनि त्यसले यात्रुको संख्यामा कुनै असर नपारेको उनको भनाई छ । आन्तरिक वायुसेवा कम्पनीहरुले पूर्ण रुपमा यात्रु नभई उडान नगर्ने हुँदा प्रत्येक दिन उल्लेख्य मात्रामा हवाई उडान हुँदा पनि यात्रुको संख्यामा कमी नभएको उनको अनुमान छ ।

उनका अनुसार आईतबार मात्रै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २४ ओटा अन्तरराष्ट्रिय, १ सय बढी आन्तरिक र अन्य हेलिकप्टरसहित करिव १ सय ५० उडान हुनेछन । यसरी दैनिक रुपमा यात्रु बढेकै कारण उडानको संख्या पनि बढेको उनको भनाई छ । चाडपर्वको मौसम र कोरोना पछि गाउँ फर्किनेको संख्या उत्तिकै रहेका कारण हवाई उडानमा यात्रुको कमी महशुस गरिएको छैन ।

सुरक्षाको कडा व्यवस्था

यात्रुको चाप बढिरहेको भएपनि विमानस्थलमा सुरक्षाको मापदण्ड भने कडा रुपमा लागु भईरहेको प्रवक्ता कर्ण बताउँछन् । उनका अनुसार खुट्टादेखि टाउकोसम्म सेनिटाईज गर्ने, बाहिरबाट आउने यात्रुका लागि कोरोनाको नेगेटिभ रिपोर्ट अनिवार्य, तापक्रम जाँच्ने, सामाजिक दुरी कायम गर्नेलगायतका क्रियाकलापहरुको पालनामा भने कडाई गरिएको छ । यस्तै आन्तरिक उडानमा सिमिकोट विमानस्थल, लुक्ला विमानस्थल र डोल्पा विमानस्थलमा जाने यात्रुको पनि कोरोना जाँच गराई नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

१० देखि १५ प्रतिशत कम अकुपेन्सीमा जहाज उडाईरहेका छौं : बुद्ध एयर

केही वायुसेवा संचालक र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले नै हवाई उडानमा यात्रुको कमी नभएको बताईरहँदा बुद्ध एयरले भने यात्रुको संख्यामा कमी आएको बताएको छ । कम्पनीका प्रवक्ता रुपेश जोसीका अनुसार कोटा थपिएपछि यात्रुको संख्यामा केही कमी आएको छ । ‘कोटा थपिनुभन्दा पहिले ९० देखि ९३ प्रतिशत अकुपेन्सीमा हामीले जहाज उडाउँदै आएका थियौं,’ उनले भने, ‘उडानको कोटा थपिएसँगै हामीले हाम्रा उडानहरु १० देखि १५ प्रतिशत कम अकुपेन्सीमा उडान भरिरहेका छौं ।’

उनले यात्रु घट्नुमा स्वास्थ्य मन्त्रालयले काठमाडौं कसैलाई नआउने आदेश दिनु, कोरोना संक्रमण बढ्नुलगायतका कारण रहेको बताए । तर हाल ८० प्रतिशत अकुपेन्सीमा जहाज चलाउँदा भाडामा पनि ५ सयभन्दा बढीको गिरावट आएको उनको भनाई छ । कम यात्रु र भाडा घट्दा केही अप्ठ्यारो भएको उनले बताए । तर अबको ५ दिनसम्म यस्तै भइरहे अन्य विकल्पको बारेमा सोच्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL