Logo

होटल क्वारेन्टाईन नीतिले होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ला ? यसो भन्छन होटल व्यवसायी

होटल क्वारेन्टाईन नीतिले होटल व्यवसायमा सकारात्मक प्रभाव पर्ला ? यसो भन्छन होटल व्यवसायी



काठमाडौं । नेपाली पर्यटन क्षेत्र पछिल्लो ७ महिनादेखि बन्द अवस्थामा छ । कोरोना भाइरस (कोभिड–१९) का कारण पर्यटन क्षेत्र पूरै थला परेको छ । यस्तोमा खर्बौ रुपैयाँ लगानी भएको होटल क्षेत्र संकटमा पुगिसकेको छ । यसैक्रममा सरकारले पर्यटक अभावमा खाली अवस्थामा रहेका होटललाई व्यवसायीको सहमतिमा क्वारेन्टाइन बनाउने नीति बनाएको छ । यसले होटल व्यवसायीहरुलाई केही राहत पुर्याएको व्यवसायीको भनाई छ । सरकारले विदेशबाट आएका नागरिकले अनिवार्य रुपमा क्वारेन्टाईनमा बस्नुपर्ने व्यवस्था गरेपछि व्यवसायीलाई समेत केही राहत मिलेको हो ।

हाल होटल संघ नेपाल (हान)मा आवद्ध ३ सय ५० होटलमध्ये हाल ६२ होटललाई क्वारेन्टाईनको रुपमा प्रयोग गरिएको छ । क्वारेन्टाईनका लागि होटलहरुले सरकारले तोकेको मापदण्डअनुसार सेवा दिईरहेका छन् ।

पछिल्लो समय विदेशबाट आउने नेपाली नागरिकका लागि होटल क्वारेन्टाइनमा बस्नुपर्ने नियमले होटल क्षेत्रमा केही भएपनि राहत मिलेको हानका प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । उनका अनुसार हाल नागरिकलाई क्वारेन्टाईनमा राख्नुपर्ने भएपछि पछिल्लो ६ महिनादेखि बन्द होटलहरुमा जमेको धुलो सफा भएको छ । अर्थात केही भएपनि कर्मचारीहरु आएर होटलको केही भएपनि काम सुरु भएको छ ।

हाल हानमा आवद्ध होटलका क्वारेन्टाईनमा बसेका विदेशबाट आउने नागरिकलाई बिहानको खाजा, दिउँसोको खाना र बेलुकाका खाना दिने गरिएको उनले बताए । यस्तै होटलमा बसेको खर्च यसअघि लिँदै आएको शुल्कमा ६० प्रतिशत घटाएर लिने गरिएको उनको भनाई छ । यस्तो बेला आफुहरुले फाईदाको लागि भन्दा पनि सरकारलाई अप्ठ्यारो परेको बेलामा साथ दिनका लागि मात्रै होटल क्वारेन्टाईनको व्यवस्था गरेको उनले बिजखबरलाई जानकारी दिए ।

तर सरकारले भने विदेशबाट दुखः गरी चार्टर्ड उडानको भाडा तिरेर नेपाल आउने नेपाली दाजुभाईलाई सेवाशुल्कमा समेत छुट दिन नसकेको प्रति भने आफु असन्तुष्ट रहेको बताए । ‘हामीले सरकारलाई साथ दिनका लागि भनेर होटल क्वारेन्टाईनको व्यवस्था गरेका हौं,’ उनले भने, ‘तर सरकारले उनिहरुलाई सेवासुल्क र करमा समेत छुट दिन सकेको छैन ।’

सरकारले होटललाई क्वारेन्टाईन स्थलको रुपमा तयार गर्न छुट्टै गेटदेखि वाईफाईसम्म हुनुपर्ने मापदण्ड बनाएको छ । सोही अुनसार होटलहरुलाई सुविधासम्पन्न हुनेगरी तयारसमेत गरिएको उनले बताए । क्वारेन्टाइनको लागि कम्तीमा २० कोठा भएको, स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्ने गरी होटल परिसरको छुट्टै गेट वा कम्पाउण्ट भएको हुनपर्ने मापदण्डमा उल्लेख छ । सकेसम्म घुमफिर गर्नसक्ने खुला ठाउँ र बगैँचा भएको भएको समेत हुनुपर्नेछ ।

होटल क्वारेन्टाइनमा रहेका हवाई यात्रुहरूलाई सेवा प्रदान गर्न खाना, पानी, अन्य लजिष्टिक सपोर्ट हुनुपर्नेछ । स्वाब परीक्षणको नमुना सङ्कलनको लागि पर्याप्त खुला ठाउँ भएको हुनुपर्नेछ । होटलमा टिभी, वाइफाइ, रुममा अनिवार्य भएको हुनुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । होटलको रुपमा अट्याच्ड ट्वाइलेट र नुहाउन तथा पिउन तातोपानीको व्यवस्था भएको हुनुपर्नेछ । साथै, होटलमा खाना तथा अन्य सेवाहरू कोठामा वा प्यासेजमा मात्र प्रदान गर्न पाइने भएको छ ।

होटलको प्रत्येक प्रस्थान कक्षमा साबुन पानीले हात धुने व्यवस्था भएको हुनुपर्नेछ । होटलले प्रदान गर्ने सेवाहरू सामूहिक रुपमा खाना खाने स्थल ’बुफे’, जिम, साउना, इन्डोर तथा आउटडोर गेम पूर्ण रुपमा बन्द गर्ने गरिएको हुनुपर्ने बताइएको छ । प्रत्येक कोठामा एक हप्ता पुग्ने गरी साबुन, ब्रस, ह्याण्डवास र टावेल अनिवार्य हुनुपर्नेछ ।

साथै उद्वार उडानबाट आउने हवाई यात्रुहरूलाई होटल क्वारेन्टाइनमा सात दिनका लागि राख्ने प्रयोजनका लागि होटल एसोसियसन नेपाल र होटल व्यवसायी महासङ्घ सम्बद्व होटलहरूमा इकोनोमी र पर्यटकस्तर होटलमा सात रात र आठ दिनको दुई जना बस्ने कोठाको लागि प्रति व्यक्ति एक मुष्ट ११ हजार रुपियाँ बस्ने व्यक्तिले तिर्नुपर्नेछ ।

एक जना मात्र बस्ने कोठाको लागि एकमुष्ट १७ हजार पाँच सय रुपियाँ लाग्नेछ । यो अवधिभन्दा बढी बस्नुपरेमा सो होटलको लागि दुई जना बस्नको लागि प्रतिव्यक्ति प्रतिदिन एक हजार पाँच सय रुपियाँ र एक जना बस्नको लागि दुई हजार पाँच सय रुपियाँ प्रतिदिन थप शुल्क लाग्नेछ । स्टाररबुटिक होटल बस्नेको लागि एक जना बस्ने कोठाको लागि प्रतिदिन चार हजारका दरले शुल्क लाग्नेछ । दुई जना बस्ने कोठाको लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपियाँका दरले सात दिनसम्मको खर्च लाग्नेछ ।

तर, विदेशबाट आउने नेपालीहरुलाई पिसिआर नेगेटिभ भएको अवस्थामा होटल क्वारेन्टाइनमा राख्नु नपर्ने नियम भने असहज भएको हानका प्रथम उपाध्यक्ष शाह बताउँछन् । उनका अनुसार एउटै हवाईजहाजमा आएका पोजटिभ केस भएकालाई मात्रै क्वारेन्टाईनमा राख्ने तर नेगेटिभ भएकालाई भने क्वारेन्टाईनमा नराख्ने प्रवृत्तिले झन नेपालमा कोरोना संक्रमण फैलने डर हुन्छ । त्यसैले जहाजमा आएका सबैलाई क्वारेन्टाईनमा राख्नुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL