Logo

पोखरामा होटललाई ‘पे­–आइशोलेशन’ बनाउने तयारी, एक दिनको एक हजारदेखि २ हजार रुपैयाँसम्म मूल्य तोकियो

पोखरामा होटललाई ‘पे­–आइशोलेशन’ बनाउने तयारी, एक दिनको एक हजारदेखि २ हजार रुपैयाँसम्म मूल्य तोकियो



पोखरा । कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना सङ्क्रमण देखिएका र अस्पताल लानु पर्ने अवस्था नभएका सङ्क्रमितहरु, जो पैसा तिरेर होटलमा बस्न चाहन्छन् भने तिनीहरुका लागि ‘पे­आइशोलेशन’का लागि होटलहरुको प्रयोग गर्न सकिने बताएका छन् ।

उनका अनुसार अहिले कृषि तालिम केन्द्रलाई ४० शै्याको आइशोलेशन वार्डको रुपमा विकसित गरिएको र अब छिट्टै होटलहरुलाई पनि ‘पे आइशोलेशन’को रुपमा प्रयोग गर्न सम्बन्धित होटलवालासँग छलफल भइरहेको छ । उनले हाल महानगरको सहकार्यमा ‘पे क्वारेन्टिन’ मात्र सञ्चालन गरिएको करिब चारसय जनाले यसको सुविधा लिएको जानकारी दिए । ‘पे क्वारेन्टिन’मा बस्नेहरुका लागि एक दिनको एक हजारदेखि दुई हजार रुपैयाँसम्म मूल्य तोकिएको प्रमुख जिसीले बताए ।

पोखरा महानगरले कुषि तालिम केन्द्र, मालेपाटन, पदम नसिङ्ग होम, लेकसिटी ब्लक बि र र्यालेचौर बेसी क्वारेन्टिन गरी अहिलेसम्म २२३ शै्याको चारवटा क्वारेन्टिन सञ्चालनमा गरेको छ । ती क्वारेन्टिनमा बस्न सकिने एक हजार २२७ जना जनामध्ये हाल जम्मा ७० जनामा मात्र रहेका छन् भने अरु घर फर्किसकेका छन् ।

महानगरको क्वारेन्टिनमा बस्नेहरु विशेषगरी घरमा बस्ने वातावरण नभएको र होटलमा बस्ने आर्थिक अवस्था नभएकाहरुले राखिने गरेको महानगरका स्वास्थ्य महाशाखाका सिनियर अहेब अर्जुन क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार विदेशबाट आएर स्वेच्छाले आफ्नै खर्चमा सुविधासम्पन्न होटलमा बस्न चाहनेहरुका लागि पोखरा महानगरको सहकार्यमा पोखराका विभिन्न २४ वटा होटलले सो सुविधा उपलब्ध गराएका छन् । त्यसैगरी महानगरले बुद्ध हस्पिटल नदीपुरमा महिलाका लागि पनि छुट्टै ५० शै्याको क्वारेन्टिन सञ्चालनमा रहेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल दुई वटा भेन्टिलेटर र ११ आइसियु शै्या रहेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मामा अनुसार हालसम्म ३९ हजार ९२१ को नमूना संंकलन भएको छ । यसमा सङ्क्रमतिको सङ्ख्या एक हजार ८८९ रहेको छ ।

गण्डकीमा ८३० क्वारेन्टिन रहेका छन् भने २६१ आइसोलेशनमा रहेका छन् । भारत र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या १९ हजार ३१५ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्