Logo

२५० यात्रु लिएर अष्ट्रेलियाको क्यानबेरा उड्दै निगमको जहाज, क्यानबेरामा निगमको पहिलो उडान

२५० यात्रु लिएर अष्ट्रेलियाको क्यानबेरा उड्दै निगमको जहाज, क्यानबेरामा निगमको पहिलो उडान



काठमाडौं । नेपाल वायु सेवा निगमको जहाज सोमबार अपराह्न अष्ट्रेलिया जाने भएको छ । निगमका अनुसार वाइड बडी ए ३३० जहाजले अष्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः५५ बजेका लागि काठमाडौं–क्यानबेरा उडान तालिका तय भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

नेपालस्थित अष्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जानकारी दिएको । नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलिया र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्र्टर्ड गरी लैजान लागेको हो ।

यसअघि वैशाख २४ गते निगमको जहाज अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL