Logo

निगमको हङकङमा एकै दिन तीन चार्टड उडान, ५८२ यात्रु स्वदेश फिर्ता

निगमको हङकङमा एकै दिन तीन चार्टड उडान, ५८२ यात्रु स्वदेश फिर्ता



काठमाडौं । नेपाल वायु सेवा निगमले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु लिएर हङकङ उडेका छन ।

निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक–एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जानकारी दिएको छ । निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो । नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले समान १५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिएकी हुन । उनले तीनवटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौँ आइपुग्नेछन् । काठमाडौँ–हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ । तीमध्ये वाइडबडी जहाज भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।

गन्तव्यमा निगमले एकैपटक यति धेरै यात्रु लगेको पहिलोपटक हो । त्यसो त निगमले सामान्य अवस्थामा यो गन्तव्यमा नियमित उडान गर्दै आएको छ । बन्दाबन्दीको अवस्थामा हवाई उडानसमेत स्थगन गरिएको अवस्थामा निगमले चार्टर्ड उडान गरेको हो । निगमका अपरेसनल विभाग प्रमुख दीपु जुहार्जनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै भने, ‘एकै दिनमा काठमाडौँबाट हङकङ यतिका धेरै उडान तथा यात्रु संख्या निगमको इतिहासमा सायदै कुनै अभिलेख होला ।’

बन्दाबन्दीको अवस्थामा निगमले आफ्नो उड्डयन इतिहासमै वाइडबडी जहाजले पहिलोपटक लामो गन्तव्य अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । तेस्रोपटक अष्ट्रेलियाको राजधानी क्यानबेरामा आगामी जेठ २६ गते (जुन ८ तारिखका दिन) चार्टर्ड उडान गर्दैछ । यी सबै उडान मलेशियाको क्वालालम्पुर हँुदै करिब १३ घण्टाको हुनेछन् ।

हङकङमा थप तीन चार्टर्ड उडान

निगमले हङकङ गन्तव्यमा थप ३ चार्टर्ड उडान गर्दैछ । आगामी जेठ २१, २२ र २३ गते हङकङका लागि चार्टर्ड उडान तालिका रहेको निगमका प्रवक्ता खड्काले बताए । यी उडानमा पनि निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाज प्रयोग गरिनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाली महावाणिज्य दूतावाससँगको पहलमा नेपालमा रोकिएका हङकङेली फर्किएको बताएको छ । नेपालबाट गएका हङकङवासी १४ दिन क्वारेन्टिनमा बस्नेछन् । नेपालमा करिब १ हजार ३ सय नेपालीमूलका हङकङवासी बन्दाबन्दीका कारण रोकिएका छन् । एक महिनाअघिदेखि फर्किन चाहनेको गैरआवासीय नेपाली संघ हङकङले नामावली सङ्कलन गरेको थियो ।

निगमले आगामी जेठ २५ गते (जुन ७ तारिख) मा वाइडबडी जहाजमार्फत जापानको नारितामा सातौँपटक चार्टर्ड उडान गर्ने निश्चित भएको जानकारी दिएको छ । निगमले दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तरराष्ट्रिय उडान भर्दै आएको छ । बन्दाबन्दीको दुई महिनाभन्दा बढीको अवधिमा दिनहुँजसो अन्तरराष्ट्रिय उडान भएका छन् ।

यसमा सर्वाधिक उडान भर्ने नेपाल एयरलाइन्स रहेको छ । दोस्रोमा कतार एयरवेज छ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा कम्पनीले उडान भर्दै आएका छन्/रासस

प्रतिक्रिया दिनुहोस्