काठमाडौं । सरकारले आगामी ५ वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवटाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६-७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी पर्यटक भित्र्याएर ८ लाख ९८ हजार रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको हो ।
सन् २०२० मा नेपाल भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकामा कोभिड–१९ को महामारीको कारण भ्रमण वर्ष स्थगन भइसकेको छ । नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रुपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण लिई पर्यटकको संख्या बढाउने लक्ष्य लिइएको हो ।
अद्वितीय प्राकृतिक एवं समृद्ध सांस्कृतिक सम्पदाको कारण नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा पर्यटन रहेको छ । कोभिडबाट नराम्ररी असर परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवर्द्धन गरी अन्तरराष्ट्रिय पर्यटक ल्याउने आधार तयार गर्नुपर्ने अपरिहार्य रहेको व्यवसायी बताउँछन् ।
सन् २०१९ मा ११ लाख ९१ हजार १९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटन आएका थिए । सन् २०१७ मा १० लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विगत १० वर्षको अवधिमा आव २०७२-७३ मा नेपालमा पर्यटन आगमनमा केही कमी आएको थियो । पछिल्लो समय पर्यटन आगमनको संख्या बढ्दो दरमा रहेको छ । आव २०७५ पुसदेखि २०७६ पुससम्मको अवधिमा प्रति पर्यटकको सरदर बसाई अवधि १३ दिन रहेको छ ।
सन् २०१९ मा कूल पर्यटक आगमनको संख्या देशगत रुपमा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकहरुमा क्रमशः भारत २१.२ प्रतिशत, चीन १४.२ प्रतिशत, अमेरिका ७.८ प्रतिशत, बेलायत ५.१ प्रतिशत र श्रीलंकाको ४.७ प्रतिशत रहेका छन् । यी देशहरुबाट आएका पर्यटकको संख्या कूल पर्यटक आगमनको करिब ५३ प्रतिशत रहेको छ/रासस