Logo

‘एयरलाइन्स बिजनेस’ पहिलेकै अवस्थामा फर्किन लामो समय लाग्न सक्छ, हिमालय एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठको बिचार

‘एयरलाइन्स बिजनेस’ पहिलेकै अवस्थामा फर्किन लामो समय लाग्न सक्छ, हिमालय एयरलाइन्सका उपाध्यक्ष बिजय श्रेष्ठको बिचार



कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरुभएसँगै त्यसको असर सबै क्षेत्रमा परेको छ । कोरोना संक्रमणका कारण बहुआयामिक समस्याहरु खडा भएका छन् । अहिले विश्व नै लगभग लकडाउनको अवस्थामा छ । हामी नेपालीहरु पनि ३३ दिनदेखि लकडाउनमै छौं । यो अवस्था अन्तराष्ट्रिय तथा आन्तरिक दुवै हवाई सेवाहरु पूर्णतया प्रभावित भएका छन् ।

लकडाउनकै कारण हामीले फ्लाईट अपरेट गर्न पाउने स्थिति रहेन, सुरुमै हामीले चीनको सबै उडान बन्द गर्नुपर्यो । त्यसभन्दा अगाडि पनि अन्य क्षेत्रमा उडान बन्द गरिसकेका थियौं । फेब्रुअरीमै हामीले १० ओटा रुट मध्ये ५ ओटा रुटमा उडान बन्द गरेर केही रुटमामात्र संचालन गरिरहेको अवस्था थियो । यसले के देखाउँछ भने त्यतिबैले हामीले करिब ५० प्रतिशत आम्दानी गुमाउनु परेको थियो । त्यस्तै कतार, साउदी अरेबिया, दुबई, मलेसिया, बंगलादेश लकडाउन अघिनै उडान बन्द गरेकाले मार्चमासमेत कुनै ब्यापार भएन । यसरी हेर्दा के देखिन्छ भने अघिल्लो मार्च र अहिलेको मार्च महिनाको तुलना गर्दा यो बर्षको मार्च महिनामा शतप्रतिशत ब्ययापार ठप्प भएको अवस्था छ ।

कोरोना भाईरसको संक्रमण विस्तारै विश्वभर फैलिँदै गएपछि हामीले गर्ने उडानहरुसमेत एकएक गर्दै सबै बन्द गर्न बाध्य भयौं । सुरुमा ५ ओटा रुटमा जहाज संचालन गरे पनि मार्चमा ती सबै रुट बन्द हुन पुगेको अवस्था हो । त्यसैले गर्दा अघिल्लो बर्षको तुलनामा फेब्रुअरीमा ५० प्रतिशत, मार्चमा ८० प्रतिशत र अप्रिलमा शतप्रतिशत ब्यापार नभएको अवस्था छ । सुरुदेखिनै हाम्रो ब्यापार ५०, ८० हुँदैं १०० प्रतिशत ब्यापार खस्किदै गएको देखिन्छ ।

पछिल्लो अवस्था हेर्दा लकडाउन कहिले खुल्छ भन्ने निश्चित छैन । अन्तराष्ट्रिय उडान सञ्चालनको लागि हामीले उडान गरिरहेका देशहरुको अवस्थाा कति छिटो सहज बन्छ भन्नेमा सबै कुरा भर पर्छ । अहिले विश्वका प्रायः सम्पूर्ण एयरलाईन्सहरुको ब्यापार ठप्प छ । किन भने ८०÷९० प्रतिशत जहाजहरु ग्राउण्डेड छन् । भारतका सबै जहाजहरु बन्द छन् । नेपालको पनि अवस्था त्यस्तै छ । फाट्टफुट्ट केही जहाजहरु भने संचालन नभएका पनि होईन । अरु सबै जहाज अहिले ग्राउण्डेड भएर बसेका छन । नेपालमा रहेका विदेशीहरु आफ्नो देश फर्किरहेको अवस्थामा समेत हामीले हाम्रो जहाज प्रयोग गर्न पाईरहेका छैनौं । किनभने जुनदेशको नागरिक नेपालमा फसेको छ, उनीहरुकै देशको जहाज आएर यात्रु लगिरहेको अवस्था छ । केही उडान भने नेपाल वायुसेवा निगमले पनि गरिरहेको छ । यसरी हेर्दा समग्रमा सबै जहाजहरु राउण्डअफ गर्ने बेलामा शतप्रतिशत ग्राउण्डेड भएको अवस्था छ ।

एयरलाइन्स सञ्चालन गर्ने जोसुकैका लागि अहिले निकै चुनौतीपूर्ण समय आएको छ । जहाज चले पनि नचले पनि हामीले विभिन्न खर्चहरुव्यवस्थापन गर्नैपर्छ, भुक्तानी गर्नुपर्ने हुन्छ । कमर्चारीलाई भुक्तानी, सरकारले छुट नदिएसम्मका लागि तिर्नु पर्ने ट्याक्सहरुलगायतका अन्य खर्चहरु तिर्नुपर्ने हुन्छ । नोक्सानीको हिसाव गर्ने हो भने त अघिल्लो बर्षको तुलनामा ५० देखि १०० प्रतिशत नै नोक्सानी भएको छ ।

अव यस्तो समयमा कम्पनी कसरी टिकाउने भन्ने कुरा हो । विश्वभर नै राज्यले सहयोग गरेको छ । हवाई कम्पनीलाई टिकाउन अरु सबै देशहरुमा राज्यले सहयोग गरेको अवस्था छ । आयटाले पनि विश्वभरिका सबै सरकारसँग आग्रह गरेको अवस्था छ । अब हाम्रो नेपालमा वायुसेवा संचालक संघ छ । संघले पनि सरकारसँग त्यही किसिमको सहयोग माग गरेको अवस्था छ । पर्यटनसँग सम्बन्धित संघसंस्थाहरु र हामी एयरलाईन्सहरुलेसमेत सरकारसँग सहयोग गर्नुपर्यो भनेर भनेका छौं । यसको लागि हामी आशावादी भएर बसेका छौं ।

पर्यटन र उड्डयन क्षेत्र भनेको इकोसिस्टम भनेको जस्तै हो । पर्यटन क्षेत्रले ६६ हजार ७ सय ७१ जनालाई रोजगारी दिएको भनेर २०१७÷१८ को आर्थिक सर्वेक्षणमा उल्लेख छ । जनु पर्यटनको मात्रै हो । अहिले पर्यटन बाहेकका होटल, एयरलाईन्सलगायतले छुट्टै रोजगारी दिएको अवस्था छ । आयटाले दिएको जानकारी अनुसार एयरलाईन्स र त्यससँग सम्बन्धित करिब पौने २ लाख रोजगारीलाई सरकारले सहयोग गर्न सकेन भने तिनीहरुको रोजगारी गुम्ने खतरा छ ।

यसका लागि सरकारले २ बर्षसम्म हवाई उद्योगमा लाग्ने लिज कर, भ्याटलगायतका करमा छुट तथा बिमानस्थल शूल्क, पार्किङ शूल्कमा छुट दिनुपर्ने हुन्छ । त्यसपछि हवाई इन्धन अन्तरराष्ट्रिय बजारमा नेपाल आयल निगमले खरिद गरेको मूल्यमा १० प्रतिशतमात्र थपेर लिनु पर्छ । किनभने अहिले हवाई इन्धनको मूल्य अन्तरराष्ट्रिय बजार भन्दा मल्टिपल टाइम्सले महंगो छ । त्यस्तै हवाई उद्योगले जुन ऋण लिईरहेको छ, त्यो अहिले नै तिर्न सक्ने अवस्था छैन । जसले गर्दा ब्याज सरकारले तिर्नु पर्ने र साँवा तिर्नलाई २ बर्षको समयावधी थप्नुपर्छ भनेर हामीले भनिरहेका छौं । ‘एयरलाइन्स बिजनेस’ पहिलेकै अवस्थामा फर्किन लामो समय लाग्न सक्छ ।

यस्तो अवस्थामा हिमालय एयरलाई कसरी अगाडि बढाउने भन्दा पनि आगामी दिनको अवस्था कस्तो आउँछ भन्नेमा भर पर्छ । लकडाउनको अवधि कति लम्बिन्छ भन्ने कुराको कुनै टुङ्गो लागिसकेको छैन । त्यसैले अहिले हामीले कसरी अगाडि जाने भनेर कुनै सोच बनाएका छैनौं । तर एयरलाइन्स त हामीले जसरी भएपनि संचालन गर्नैपर्छ, त्यसको कुनै विकल्प नै छैन । अहिलेको अवस्था कति दिन चल्छ र आउने दिन कसरी जान्छ त्यसैमा भर परेर हामी अगाडि बढ्ने छौं । – राङडोल लामासँगको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्
MBL