Logo

सरकारले साथ दिएन भने पर्यटन डुब्छ, टान अध्यक्ष खुम सुबेदीको बिचार

सरकारले साथ दिएन भने पर्यटन डुब्छ, टान अध्यक्ष खुम सुबेदीको बिचार



विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीबाट नेपालको पर्यटन बजार अहिले सबैभन्दा प्रभावित हुन पुगेको छ । स्पष्ट रुपमा भन्ने हो भने नेपाली पर्यटन शून्यबाट पनि माईनसतिर ओरालो लागेको अवस्था छ । हाम्रो पर्यटन पूर्वाधारमा भएको लगानीदेखि बिभिन्न गतिविधिहरु ओरालो लागेको अवस्था छ । अहिलेको अवस्थामा हामी शून्य भएर बसेका छौं । अहिले पर्यटनका सबै पक्षहरुमा गम्भीर प्रभाव परेको छ । यो अवस्थामा ट्रेकिङ (पदयात्रा) व्यवसाय गम्भीर समस्यामा परेको छ ।

हुन त पुरै पर्यटन उद्योगनै समस्यामा रहेको सन्दर्भमा एउटा अवयव प्रभावित हुनु अस्वभाविक पनि होइन । कोरोना संक्रमणको विश्वव्यापी प्रभावसँगै नेपालमा ट्रेकिङलगायतका गतिविधिका लागि आएका पर्यटकलाई पनि हामीले फिर्ता पठाउनुपर्ने अवस्था आयो । अहिले विश्वव्यापी हवाई प्रतिबन्धजस्तो अवस्था छ, नेपालले पनि सबै अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ र सीमानाका पनि बन्द गरेको छ ।

यो अवस्थामा विदेशी पर्यटक नेपाल आउन सक्ने अवस्था छैन भने नेपालमा अड्किएका पर्यटकका लागि समेत यहाँ कुनै गतिविधि गर्न सक्ने अवस्था पनि छैन । सबैलाई जानकारी भएकै विषय हो अहिले अन्तरराष्ट्रिय तथा आन्तरिक उडानहरु सबै ठप्प छन । देशैभर लकडाउनको यो अवस्थामा पर्यटकीय गतिविधि संचालन गर्न नसकिदा सबै पर्यटन व्यवसायीहरु अहिले घरभित्रै रहेको अवस्था हो ।

पर्यटन भनेको इलास्टिक जस्तो हो । अनुकुल अवस्था हुँदा पर्यटकहरु बढ्ने र अनुकुल नहुँदा खुम्चिन हुन्छ । यस अर्थमा सम्पूर्ण ब्यवसायीहरु अहिले निराशातर्फ उन्मुख छन् । किनभने यो जुन समस्या छ त्यो तत्काल समाधान होला जस्तो छैन । यो समस्या कहिलेसम्म जान्छ भनेर कुनै आंकलन गर्न सकिने अवस्था पनि छैन । महामारी अहिले विश्वका बिभिन्न देशहरुमा अझै बढ्दै गईरहेको अवस्था रहेकोमा अवस्थामा पर्यटकहरु भ्रमणका लागि योजना पनि बनाउन सक्ने अवस्थामा छैनन् । अष्ट्रेलिया, आयरल्याण्डलगायतका देशले करिब १ बर्ष जति कुनै पनि देशको भ्रमणमा बन्देज लगाउन तयारी गरिरहेको सुन्नमा आएको छ । यदि यस्तो अवस्था आयो भने नेपालको पर्यटनमा गम्भीर समस्या नआउँला भन्न सकिएला । सबै व्यवसायीहरुको ब्यवसाय अहिले ठप्प छ । अहिले कसरी २०२० मा ‘सभाईब’ हुने र त्यसपछि कसरी ‘रिभाईव हुने भन्ने पक्षमा कुरा आएको छ ।

पर्यटनमा परेको वर्तमानको गम्भीर असरले नेपालको अर्थतन्त्रमा निकै ठूलो प्रभाव पर्नेछ । किनभने पर्यटकीय गतिविधि एउटा देखिने र अर्को नदेखिने दुई किसिमबाट हुन्छ । हाम्रा हिमाली क्षेत्रहरुमा जुन आर्थिक गतिविधि हुने गर्छ । होटल, रेष्टुँरा, होटल ट्राभल, ट्रेकिङ, एयरलाईन्सहरुको गतिविधि ठप्प छ । अर्थमन्त्री युवराज खतिवडाले दाबी गरेजस्तै पर्यटन क्षेत्रको योगदान कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा ३ दशमलब १८ मात्रै भन्नेमा हामी पर्यटन क्षेत्रको असहमति छ । मलाई लाग्छ करिब १० प्रतिशत पर्यटनको जिडिपीमा योगदान छ । पर्वतारोहण र पदयात्रामा मात्रै ४ प्रतिशत नेपालको पर्यटनमा जिडिपीमा योगदान रहेको मेरो अनुमान छ । यसैले पनि पर्यटनमा परेको प्रभावले नेपालको अर्थतन्त्र ठूलो रुपमा धराशायी हुने देखिन्छ । सबैलाई जानकारी भएकै कुरा हो हेलिकोप्टमा कति लगानी भएको छ, एयरलाईन्सको लगानी, ट्राभल ट्रेकिङको लगानी, होटलको लगानी हेर्ने हो भने कहालीलाग्दो अवस्था छ ।

ट्रेकिङ क्षेत्रको कुरा गर्ने हो भने, हामी १८ सय ट्रेकिङ कम्पनी छौं । ७ सय जति ट्राभल कम्पनीहरु रहेका छन् । त्यस्तै साधरण होटलदेखि पश्मिना सल गार्मेन्टलगायत ठूला ब्यवसायसम्म ठूलो प्रभाव पर्ने देखिन्छ । खासगरी पदयात्रा र पर्वतारोहको सोसलाईजको हकमा भन्दा करिब १५ अर्ब रुपैयाको नोक्सानी ब्यहोर्नु परेको अवस्था छ । त्यसमा करिब ८ लाख हाम्रा मजदूर साथीहरु विस्थापित हुने अवस्था रहेको छ । यो अवस्थामा सरकारले साथ दिन सकेन भने गम्भीर अवस्था आउँछ, पर्यटन नै डुब्छ । हामीले हाम्रा मागहरु सरकारलाई राखिसकेका छौं । अब आशा गरौं सम्पूर्ण पर्यटन ब्यवसायीहरुलाई अड्याउन सरकारले विशेष किसिमबाट हेर्ने छ र अन्य देशको अनुभवलाई पनि सरकारले अध्ययन गर्नेछ । त्यसैको आधारमा हाम्रा पर्यटन ब्यवसायीहरुलाई अड्याउनेछ भन्ने मलाई लाग्छ ।

मैले अघि भनेको १५ अर्ब रुपैयाँ घाटा भनेको ट्रेकिङ र पर्वतारोहणको मात्रै हो अन्यमा के कति भयो कुनै लेखाजोखा गर्न सकेको छैन किन भने होटल, एयरलाईन्स, हेलिकोप्टर, ट्रेकिङ सप आदिको अध्ययन गर्नै पर्छ । मैले मात्रै ट्रेकिङ र पर्वतारोहणमा मात्रै उक्त रकम बराबरको नोक्सानी ब्यहोरिरहका छौं भनेको हुँ । अन्य क्षेत्रमा के कति नोक्सानी ब्यहोर्नु परेको छ त्यो मैले एकिनरुपमा भन्न नसके पनि होटल र एयरलाईन्स क्षेत्रमा बढी प्रभाव परेको देखिन्छ । किन भने हेलिकोप्टर र एयरलाईन्सको बीमा नै धेरै हुने गर्छ । जस्को प्रत्येक सेकेन्डको कति महत्वपूर्ण हुन्छ भन्ने कुरा उही लगानीकर्तालाई मात्रै थाहा हुन्छ । हाम्रो क्षेत्रमा यति नोक्सानी ब्यहोर्नु परेको छ भने उनीहरुले कति ब्यहोर्नु पर्ला अनुमान लगाउन सक्छौं ।

हामी हाम्रा सदस्यहरु र उनीहरुसँग आबद्ध रहनुभएका मजदूर साथीहरुका लागि पहल गरिरहेका छौं । हाम्रो एजेण्डाहरु त्यसैमा केन्द्रित रहर अगाडि बढाइरहेका छौं । सरकालाई पदयात्रा र पर्वतारोहणमा परेको असरका बारेमा हामीले आफ्नो तरिकाबाट आग्रह गरिसकेका छौं । हामीलाई अहिलेको अवस्थामा २ प्रतिशतमा बैकिङ ब्याजमा ऋण उपलब्ध गराउन ब्यवस्थापन गर्नुपर्यो । र ऋणलाई रिसेड्युलिङ्ग गर्नु पर्यो, दुई बर्ष पछिमात्रै हामी उक्त ऋण तिर्न सक्छौं । किनभने २०२० मा कुनै ब्यापार गर्न सक्ने अवस्था छैन यो सभाईवको मात्र समय हो भने २०२१ मा हामी रिभाईव गर्छौं र २०२२ मा हामीले बैक लोनहरु तिर्न सक्नका लागि सक्षम हुन्छौं भन्ने लाग्छ ।

अव यो अवस्थामा विश्व कसरी पहिलेकै अवस्थामा आउँछ भन्ने कुरा अहिलेनै यसै भन्न सक्ने अवस्था छैन । त्यसैले अहिले हामीले वर्तमान अवस्थलाई आधार मानेर सरकारलाई अनुरोध गरेका हौं । लकडाउन खुलिसकेपछि सबै कुरा नर्मल भएर गयो भने बिस्तारै पर्यटन क्षेत्रले गति लेला । ट्रेकिङ। होटल, रेष्टुराँहरु बिस्तारै चल्न थाल्लान । बसहरु, आन्तरिक उडानहरु नाफा नभए पनि रनिङ हुने, थ्री स्टारसम्मका होटलहरु चल्ने देखिन्छ । तीभन्दा माथिको होटलहरुलाई समस्या पर्ने देखिन्छ । हामी ट्राभल ट्रेकिङ कम्पनी अप्ठेरो अवस्थामा हुन सक्छौं । यो आन्तरिक पर्यटनको मात्रै चहलपहल भयो भने नेपालीहर लोमान्थाङ, मुस्ताङ, अन्नपूर्ण, पुनहिल जालान तर, उनीहरु आफ्नै तरिकाले जानेछन । ट्रेकिङ कम्पनीबाट उनीहरुले सेवा लिदैनन् । त्सकारण बिदेशी पर्यटक नआए हामीजस्ता ट्रेकिङ कम्पनीहरुको व्यवसायमा गम्भीर समस्या आउँछ ।

ट्राभलका लागि बिदेशीहरु नआए सबै समस्यामा पर्छन । होटल, ट्राभल ट्रेकिङ व्यवसया इन्टरलिंक छ । त्यसैले सरकारले ट्राभल र ट्रेकिङ कम्पनीहरुलाई बिना धितो २० लाख रुपैयाँसम्म एक बर्षको लागि लोन दिनसक्ने वातवरण तयार गर्नुपर्छ । यदि त्यो कुरा सरकारले बुझ्यो भने कम्तिमा पनि हामी एक बर्ष भाडा तिरेर आफ्नो कर्मचारीहरुलाई पालेर बस्न सक्छौं । त्यसपछि मात्रै हामीले आफ्नो ब्यापार ब्यवसाय अगाडि बढाउन सक्छौं । अन्यथा हामीले त्यो बिना धितो जुन २० लाखको प्रस्ताव गरेका छौं त्यो बैंकले ब्यवस्थापन गर्न सकेन भने हाम्रा धेरै ट्राभल ट्रेकिङ कम्पनीहरु बन्द हुनेछन् । आगामी दिनहरुमा हामीले त्यो गतिविधि सञ्चालन गर्न सक्ने अवस्था हुँदैन । यसले नेपालको पर्यटनमा ठूलो असर पर्नेछ, रोजागरी गुम्नेछ नेपाल र नेपालीको पर्यटनप्रतिको आशामा तुषारापात हुनेछ ।

म आफैं पनि संस्थाको एउटा जिम्मेवार ब्यक्ति भएकाले हामीले सम्बन्धित मन्त्रालय, मन्त्री, सचिव, नेपाल पर्यटन बोर्ड, सरोकारवाला संघसंस्थाहरुसँग गहनरुपमा छलफल गरेका छौ कि ट्रेकिङ व्यवसायमा संलग्न गाइड, मजदूरहरुको अवस्था के छ ? मजदूरहरुको लागि हामीले के गर्न सक्छौं भनेर । अहिले मजदुरहरुको अवस्था दयनीय छ । किनभने सिजनमा उनीहरुले दैनिक कामसमेत नपाएको अवस्था रहेको छ । फिल्डमा जाँदा पाउने टिप्ससमेत नपाईरहेको अवस्था छ । अव हामी सिजन सकेर अफसिनतर्फ उन्मुख भईरहेको अवस्था छ । यसैपनि अफसिजनमा ब्यापार ब्यवसाय ठप्प नै हुन्छ । यसकारणले पनि अहिले मजदुरहरु ठूलो समस्यामा रहेको छ । अहिले यो लकडाउनको अवस्थाले गर्दा उनीहरु जे जस्तो छ त्यस्तै तरिकाले आफ्नो गुजारा चलाईराखेको छन् । यो लकडाउन सकेपछि चरम समस्या पर्ने देखिन्छ ।

यो अर्थमा पनि सरकारको आधिकाररिक मन्त्रालय, पर्यटन मन्त्रालयलाई पनि हामीले यो समस्या राखिसकेका छौं । र नेपाल पर्यटन बोर्डमा हाम्रो १० प्रतिशत मजदुर कोषमा छ, ३० प्रतिशत बोर्ड र टान मिलेर आफ्ना गतिविधि गर्ने संयुक्त कोष छ । यो संयुक्त कोषहरुलाई यो संकटको बेलामा ब्यवस्थापन गरेर हाम्रा कर्मचारीहरुलाई राख्ने काम गरा,ैं हामी यो बेलामा रोजगारी सिर्जना गरौं र लकडाउन पछि नर्मल अवस्थामा ट्रेकिङ ट्राभलहरु ब्यवस्थापन गरौं, चाहिने चीजहरुको ब्यवस्था गरौं, हिमालहरुको फोहोरहरु सफा गरौं केही मजदूर साथीहरुले रोजगारी पाउनेछन भनेर अनुरोध गरिहेका छौं । हामी र सरकार मिलेर मजदूरहरुको लागि विशेष कार्यक्रम ल्याउनुपर्छ भन्ने हाम्रो धारणा छ । यसबाट सरकार र हामी कोही पनि भाग्न मिल्दैन ।

अब भविष्यमा नेपालको ट्रेकिङ व्यवसायको भविष्य कता जान्छ भनेर भन्न सक्ने अवस्था अहिले छैन । किन भने २०२० मा हामीले ब्यापार गर्ने अवस्था नै छैन । सन् २०२१ मा विश्व अर्थतन्त्र कसरी जान्छ भन्नेमा धेरै कुरा निर्भर होला । यो अवस्था अन्त्य भएर हामीले नेपाल सुरक्षित छौं भन्ने सन्देश दिन सक्यौ भने बिस्तारै नेपाली पर्यटनले गति लेला ।

ट्रेकिङका लागि विश्वकै आकर्षण रहेका नेपालका पदयाात्रा मार्गमा कोरोनाको कहर अन्त्यपछि पर्यटक आउने सम्भावना त छ तर उत्तिकै पर्यटक आउँदैनन । नेपाल पर्यटन हिसावले महत्वपूर्ण भएपनि नेपालमा पर्यटकीय गतिविधी फष्टाउन बिदेशीहरु पनि आर्थिक रुपमा बलियो हुनुपर्यो । उनीहरु आफैं पाउरोटी खान सक्ने अवस्था छैन भने नेपाल घुम्न आउने कुरा पनि भएन । पहिले उनीहरुको बजेट बलियो हुनु पर्यो । उनीहरुले सरकारले के भन्छ त्यसलाई मान्ने हुन्छ । प्रत्येक देशले आफ्नो नागरिकलाई भ्रमणमा जानु उपयुक्त छ कि छैन भनेर हेरेको हुन्छ । त्यो पनि हामीले हेर्न जरुरी छ । यो अवस्थाबाट हेर्यो भने २०२० सभाईवको पोईन्ट, २०२१ रिभाईवको पोइन्ट र २०२२ पर्यटकीय गतिविधिमा जान सक्ने मेरो अनुमान हो । अब पर्वतारोहणको समय आउँछ, अहिले कोरोनाको संक्रमण समाप्त भयो भन्ने सन्देश गयो भने अक्टुबरमा पनि सगरमाथालगायत केही अन्य हिमालहरुको आरोहण हुन सक्ला । त्यसले धेरै प्रभाव पर्दैन । कोरोनाको प्रभाव, क्षति र भविष्यबारे लकडाउनपछि मात्र बिस्तृतमा भन्न सकिएला । राङडोल लामासँगको कुराकानीमा आधारित

प्रतिक्रिया दिनुहोस्
MBL