Logo

आजबाट भ्रमण बर्ष सचिवालय बिघटन, सचिवालयमा रहेका दुईवटा कार कहाँ बुझाउने भन्नेमा अन्यौल

आजबाट भ्रमण बर्ष सचिवालय बिघटन, सचिवालयमा रहेका दुईवटा कार कहाँ बुझाउने भन्नेमा अन्यौल



काठमाडौं । सरकारले भ्रमण बर्षको सचिवालय आजबाट औपचारिक रुपमा विघटन गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसका कारण भ्रमण बर्ष स्थगित गरेको सरकारले २०७६ चैत ९ को निर्णय अनुसार आजबाट सचिवालय विघटन गरेको हो ।

चैत ९ गते नै निर्णय भए पनि सचिवालयमा भएको बिभिन्न सामग्री तथा अन्य कागजातहरु सरकारलाई हस्तान्तरण गर्नु पर्ने भएकाले बैशाख १ गतेदेखि मात्रै विघटन हुने गरि निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले बताए ।

सचिवालय विघटनसँगै त्यहाँ रहेका ल्यापटप, कम्प्युटर २ ओटा कारलगायतका सामग्री मन्त्रालयमा बुझाउन पत्र प्राप्त भए पनि नेपाल पर्यटन बोर्डले ति सामग्री बोर्डमा नै आवश्यक भएकाले बोर्डमा बुझाउनु पर्ने दाबी गरेको सचिवालय श्रोतले जानकारी दिएको छ ।

ती सामग्री मन्त्रालयमा दिने हो या बोर्डमा दिने हो भन्नेबारे अन्यौलता भएको सचिवालय श्रोतले बतायो । श्रोतले भन्यो ‘हामीलाई कुनै जानकारीनै भएन, सचिवालय संयोजक र सदस्य सचिव दुईजना बसेर निर्णय गर्छन कसरी भन्नु, कुन सामग्री कहाँ बुझाउने भनेर ।’

तर मन्त्रालयका सचिव अधिकारीले भने आजै बिघटन गर्ने गरि मन्त्रिपरिषदले निर्णय गरिसकेकाले ति सामग्री कहाँ बुझाउने कहिले बुझाउने भन्ने कुरा सचिवालयलाईनै जानकारी हुने बताए । हामीले भन्ने मात्रै हो उनीहरुले कहिले बुझाउँछन त्यो हामीलाई थाहा हुँदैन,’ अधिकारीले बिजखबरसँग भने ।

२०७४ साउन २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको थियो । त्यस्तै २०७५ कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले पर्यटन व्यवयासी सुरज वैद्यलाई नेपाल भ्रमण वर्षको राष्ट्रिय संयोजकको रूपमा ३ वर्षका लागि नियुक्त गरेको थियो ।

उक्त मितिदेखि हालसम्ममा सचिवालयले २५ करोड रुपैयाँ खर्च गरिसकेको श्रोतले जानकारी दिएको छ । सचिवालयमा काजमा विभिन्न मन्त्रालयका ७ जना स्थायी कर्मचारी र १५ जना करारका कर्मचारी कार्यरत थिए । सचिवालयका सूचना अधिकारी रोहिनी खनालले अहिले लकडाउनका कारण सरकारले दिएको कुनै पनि काम गर्न नसकेको जानकारी दिए ।

उनका अनुसार सरकारले १ महिनाको समय दिएर प्रतिवेदन, लेखापरीक्षण गर्न समय दिए पनि उक्त काम गर्न नसकेको उनले जानकारी दिए । त्यस्तै सचिवालयले लकडाउन खोलेपछि ३ हप्ताको समय माग गरेर मन्त्रालयमा पत्र पठाईसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL