Logo

११ लाखलाई रोजगारी दिँदै आएको पर्यटन उद्योग बचाउन हानको आग्रह, राहतको विशेष प्याकेज ल्याउन अनुरोध

११ लाखलाई रोजगारी दिँदै आएको पर्यटन उद्योग बचाउन हानको आग्रह, राहतको विशेष प्याकेज ल्याउन अनुरोध



काठमाडौं । होटल एसोसिएशन नेपाल (हान) ले उचित राहत ब्यवस्थापन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई आग्रह गरेको छ । हानले एक विज्ञप्ती जारी गर्दै पर्यटन मन्त्री भट्टराईलाई कोरोना भाईरसका कारण खर्बौं लगानी रहेको होटल क्षेत्र बन्द भएको भन्दै राहत सम्बन्धी पहलकदमी पाईला चाल्न आग्रह गरेको हो ।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण खर्बौं लगानी रहेको होटल उद्योग बन्द भई धरासायी हुने भन्दै हानले मन्त्रीको ध्यानकर्षण गराएको हो । साथै संकटग्रस्त अवस्थामा राज्यबाट उपलब्ध हुन सक्ने सेवा सुविधा तथा राहतको लागि पहल गरिदिन मन्त्री समक्ष आग्रह गरेको छ ।

विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत र जीडीपीमा कम्तीमा ८ प्रतिशतको योगदान रहेको भन्दै पर्यटन क्षेत्र जोगाउनका लागि विशेष प्याकेज ल्याउन समेत आग्रह गरेको छ । साथै करिब ११ लाखलाई रोजगारी प्रदान गर्दै आएको पर्यटन उद्योगलाई आगामी दिनमा बचाई राख्नको लागि होटलबाट आश्रित श्रमिक तथा कर्मचारीहरुलाई विशेष व्यवस्थापनका लागि सहयोग गरिनुपर्ने हानको माग रहेको छ ।

‘साथै यस विषम परिस्थितिमा मुठीभरका होटल उद्योगले मात्र धान्न नसक्ने हुँदा बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुनबाट रोक्न मन्त्रीज्यूलाई यस सम्बन्धी ध्यानाकर्षण गराउन चाहन्छौ,’ बिज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्