Logo

बेलायत, जर्मनी र क्यानाडा उड्दै निगमको जहाज, २० बर्ष पछि फेरि युरोप उड्दै

बेलायत, जर्मनी र क्यानाडा उड्दै निगमको जहाज, २० बर्ष पछि फेरि युरोप उड्दै



काठमाडौं । नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्फर्ट र क्यानाडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिएका छन ।

उनले भने, ‘युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौँ, अबको सात देखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानाडा पुग्छन ।’ निगमको यी गन्तव्यको उडान भने व्यावसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ ।

यी तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सिधा उडान गर्नेछन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ । वाइडबडीले लण्डनबाट क्यानाडा र जर्मनीको उडान भर्नेछ । निगमले शुरुमा बोइङ ७६७ जहाजमार्फत लण्डन, पेरिस र फ्राङ्कफर्ट उडान गरेको थियो ।

जहाज अभावलगायत कारण देखाउँदै बिचमै सेवा रोकेको थियो । निगमले १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो । युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो । निगमका पूर्व निर्देशक रामहरी शर्माले निगमले देशलाई अफ्ठयारो परेकाबेला सहयोग गर्नुपर्ने दायित्व भएकाले अहिले आफ्नो भूमिकालाई प्रभावकारी बनाएको बताए ।

निगमले आफ्नो ६० वर्षे उड्डयन इतिहासमा पहिलो पटक वाइडबडीजहाजमार्फत लामा गन्तव्यको उडान भरेर संस्थाको सान्दर्भिकता र औचित्यतालाई पुष्टि गरिसकेको छ । यसअघि निगमले आफ्नो उड्डयन इतिहासमै पहिलो पटक लामो गन्तब्यको अष्ट्रेलियाको शहर ब्रिस्बनमा चार्टर्ड उडान गरेको थियो । निगमको वाइडबडी जहाजले चैत १९ मा मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बनसम्मको करिब १३ घण्टाको उडान यात्रा गरेको थियो ।

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले नेपाल–अष्ट्रेलिया सिधा उडानका लागि चासो जनाउँदै यो उडानले आगामी दिनमा उडान निरन्तरताका लागि योगदान पुग्ने विश्वास दिलाएको प्रमुख जुहार्चनले जानकारी दिए । सरकारले अष्ट्रेलिया सिधा उडानका लागि हवाई सम्झौता गरिसकेको छ । छिट्टै यो गन्तव्यमा उडान हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीको विश्वास छ ।

अहिले कोडिभ–१९ को विश्वव्यापी महामारी फैलिरहेको अवस्थामा सरकारले चैत ११ देखि २५ सम्म देशभर लकडाउन गरेको छ । वैशाख ३ गतेसम्म सबै आन्तरिक र अन्तरराष्ट्रिय उडान बन्द गरिएको छ । यस्तो परिस्थितिमा निगमले औषधीजन्य सामग्री ढुवानीका लागि कार्गो उडान तथा विदेशी नागरिकलाई उनीहरुको मुलुकसम्म लैजानका लागि चार्टर्ड उडान गरिरहेको छ ।

निगमले सातादिनभित्रै श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ भने अबको १० दिनभित्र युरोपमका महत्वपूर्ण गन्तव्यमा चार्टर्ड उडान गर्ने भएको हो । त्यस्तै चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान भर्ने योजना बनाइएको निगमले उल्लेख गरेको छ । यसअघि निगमको वाइडबडी जहाजले चैत १६ गते र शुक्रबार बिहान दुई चार्टर्ड उडानमार्फत चीनको ग्वाङाओबाट मेडिकल सामग्री ल्याएर फर्किएको थियो/रासस

प्रतिक्रिया दिनुहोस्
MBL