Logo

बन्दीपुर केबुलकारको काम ३५ प्रतिशत सम्पन्न, आगामी दशैंमा संचालन गर्ने तयारी

बन्दीपुर केबुलकारको काम ३५ प्रतिशत सम्पन्न, आगामी दशैंमा संचालन गर्ने तयारी



काठमाडौं । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबुलकारको काम ३५ प्रतिशत सम्पन्न भएको छ । १ अर्ब ५६ करोडको लागतमा निर्माणाधीन सो परियोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले जानकारी दिएको हो ।

कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले भने, ‘परियोजना छिटो सम्पन्न गर्न दिनरात नभनी काम भइरहेको छ । कुनै बाधा नआएको खण्डमा आगामी दशैँदेखि माघ मसान्तभित्र केबुलकार सञ्चालनमा आउनेछ ।’ उनका अनुसार केबुलकारको टावरको खाल्डा खन्ने, पिल्लरको काम तथा बटम स्टेशनमा केबुलकारको खण्ड निर्माण सम्पन्न भएको र एक महीनाभित्र केबुलकारको टावर निर्माणस्थलमा आइपुग्ने छ । उनले भने, ‘केबुलकारको सामान तयार भइसक्यो, अब सामान ल्याएर जोड्नमात्रै बाँकी छ ।’

केबुलकारको माथिल्लो स्टेशनमा बन्ने चारतारे होटलको कामलाई पनि अगाडि बढाउने भएको छ । माथिल्लो स्टेशनमा ८० करोडको लागतमा होटल निर्माण गर्नका लागि काठमाडौंस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको छ । परियोजनाका अनुसार २५ महिनाभित्र होटल निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको हो । कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता भइसकेको छ । केबुलकार परियोजनाका लागि बैंकले ९७ करोड रुपैयाँ ऋण दिने सहमति भएको छ ।

केबुलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाडौंस्थित केज कन्सलट्यान्ट प्रालि, मेकानिकाल परामर्शदाताका रुपमा भारतस्थित सीआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ । आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार १ सय भन्दा बढी लगानीकर्ता रहेका छन् ।

प्रारम्भमा ५६ करोड रुपैयाँको लागतमा केबुलकार सम्पन्न गर्ने योजना रहेकोमा कम्पनीले केबुलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबुल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरणहरु जडान गर्ने योजना थप गरेको थियो । साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जङ्गल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने भएको छ । कम्पनीले केबुलकारको पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई ४५ लाख रुपैयाँ बराबरको सेयर प्रदान गरिसकेको छ ।

ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय जना वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिएको छ । ठूल्ढुङ्गास्वाँराबाट शुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले १ दशमलब ६ किलोमिटरको यात्रा तय गर्नेछ । तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ । केबुलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ । केबुलकारमा दुई वटा सामान बोक्नेसहित १७ वटा बाक्सा रहनेछ ।

केबुलकार परियोजनालाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको छ । परियोजनामा रणनीति योजनाअनुरुप सेयरधनीको सहभागिता सुनिश्चित गर्ने साथै कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लगिएको छ । लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजनासमेत बनाएको छ । पहिलो पाँच वर्षलाई अल्पकालीन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालीन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालीन लक्ष्यको रुपमा वर्गीकरण गरिएको छ ।

राजमार्गका होटल अनुगमन

जिल्ला प्रशासन कार्यालय तनहुँले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा सञ्चालित होटल तथा रेष्टुरेन्टको बिहीबार अनुगमन गरेको छ । उपभोक्ताहरुसँग चर्को मूल्य लिने गरेको गुनासो आएपछि कार्यालयले ७ ओटा होटलमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिएका छन । अनुगमनका क्रममा होटलहरुको मूल्यसूची सङ्कलन गरिएको र मूल्यसूचीका सम्बन्धमा सरोकारवालासँग छलफल गरी मूल्यसूचीलाई सरल बनाउन पहल गरिने छ ।

अनुगमनका क्रममा व्यास नगरपालिका–५ स्थित गोर्खाली होटलले बिनादर्ता होटल सञ्चालन गरेको पाइएकोले सात दिनभित्र दर्ता गरी प्रशासन कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख शिवजी बरालले जानकारी दिएका छन । त्यस्तै सोही वडाको स्पीड ब्रेकर कटेजलाई सरसफाइमा सुधार गर्न, दुना टपरी रेष्टुरेन्ट एण्ड लजलाई डिफ्रिजमा छुट्टाछुट्टै खाद्य सामग्री राख्न निर्देशन दिइएको छ ।

त्यस्तै ए फोर खाजा घरले मूल्यसूची नराखेकोले सात दिनभित्र मूल्यसूची राखेर प्रशासनमा जानकारी गराउन र भान्साको सरसफाइमा ध्यान दिन निर्देशन गरिएको छ । व्यास नगरपालिका–५ स्थित ग्रीनहिल रेष्टुरेन्ट, होटल माउण्टेन रिभरभ्यू र म्याग्दे गाउँपालिका–१ स्थित ओरिजिनल हाइवेमा भने सरसफाइको अवस्था सन्तोषजनक पाइएको छ/रासस

प्रतिक्रिया दिनुहोस्