काठमाडौं । सरकारले कोरोना रोकथामको लागि आवश्यकता र परिस्थति अनुसार निर्णय गर्दै जाने जानकारी दिएको छ । केही दिन अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।
उक्त समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हाल अन्य देशमा के भईरहेको छ, उडान स्थगित गर्नु पर्ने हो वा होईन सो विषयमा प्रतिवेदन बुझाउन निर्देशन दिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले जानकारी दिएका छन । भट्टराईका अनुसार प्राधिकरणले आजै उक्त प्रतिवेदन बुझाउने र आवश्यक रोकथामका लागि सरकारले निर्णय गर्ने बताएका हुन । आजै निर्णय हुन्छ कि हुँदैन भन्ने प्रश्नमा मन्त्री भट्टराईले अहिले सम्म बैठक नबोलाएको र आवश्यक परे परिस्थति अनुसार निर्णय गरेर जाने बताएका हुन ।
‘नेपाल कोरोनाको नियन्त्रणमा लागेको छ । विमानस्थलमा दिने भिसा रोक्नु पनि नियन्त्रण नै हो’, उनले भने, ‘अन्य देशबाट नेपाल आउने नेपाली वा अन्य पर्यटकको लागि कोरोना भाईरस नभएको सर्टिफिकेट ल्याएर मात्रै नेपाल प्रवेश गर्र्न पाउने बनाएका छौं त्यो पनि नियन्त्रण नै हो ।’ गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षालगायतका मन्त्री समेत रहेको उक्त समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नियाल्दै रोकथामका लागि आवश्यक निर्णय गर्नेछ । कोरोना भाईरसको संक्रमण अहिले विश्वभर फैलिरहेको छ । यसबाट ज्यान गुमाउनेको संख्या साढे ३ हजार भन्दा बढी पुगेको छ ।
नेपालमा भने उक्त भाईरस रोकथामका लागि अहिले सम्म सरकारले समिति गठन गरे पनि कुनै निर्णय भने आईसकेको छैन । सरकारी तवरबाट नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ज्वरो नाप्ने बाहेक अन्य कुनै काम हुन नसकेको सरोककारवाला बताउँछन । नेपालले उक्त भाईरसलाई रोक्नका लागि नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुसँगको गतिविधिलाई नियाल्दै रोकथामका लागि आवश्यक निर्णय गर्ने भनिए पनि हाल सम्म सो काम समेत हुन सकेको छैन ।
मन्त्री भट्टराईको निर्देशन
त्यस्तै मन्त्री भट्टराईले आजै मन्त्रालयमा छलफल गरि कोरोना भाइरसले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन् । मन्त्री भट्टराइले निर्देशन दिदैं कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखि पठाउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन । आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टीम बनाइने समेत मन्त्री भट्टराइले जानकारी दिएका छन ।
मन्त्री भट्टराइले पर्यटन क्षेत्रसग आवद्ध सबै संघ संस्था तथा विज्ञहरुलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नु पर्ने कदमबारे तीन दिनभित्र सुझाव दिन पनि आग्रह गरे । त्रिभुवन विमानस्थल बाहेक पर्यटकहरुको धेरै आवातजवत हुने काठमाडौं बाहिरका विमानस्थलहरुमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर हेल्थ डेस्क राख्ने प्रकृया समेत अघि बढाएको जानकारी दिएका छन ।
अभिभावककारुपमा राज्य भएकाले अहिले धेरै नआत्तिइ आफ्ना व्यवसायहरु संचालन गर्न पनि उनले पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मी, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, बायुसेवा संचालक संघ, होटल संघ, टान, नाट्टा, हानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधीले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराएका थिए । राज्यले यो उद्योगलाई बचाइराख्न बैंकको व्याजदरलगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने माग गरेका छन ।
ज्वरो नापेर मात्रै हवाई यात्रा
सरकारले तत्काल विद्यालय तथा अन्तरराष्ट्रिय उडान बन्द गर्न बिभिन्न संघसंस्थाले आग्रह गरेका छन । अन्तरराष्ट्रिय तथा आन्तरिक उडान गर्दै आईरहेको बुद्ध एयरले आफ्नो जहाजमा यात्रुलाई ज्वरो नापेरमात्रै यात्रा गराउन सुरु गरिसकेको छ । भने अन्य हवाई कम्पनीले समेत उक्त कार्यलाई पछ्याउने भएको छ । वायुसेवा संचालक संघले समेत बिज्ञप्ती जारी गर्दै यात्रुहरुलाई ज्वरो नापेर मात्रै यात्रा गर्न आग्रह गरेको छ भने ज्वरो आएका विरामीलाई विमानस्थल वरपर तथा सभासम्मेलनमा नजान आग्रह गरेको छ ।
हुन त सरकारले भ्रमण बर्षलाई समेत स्थगित गर्दै विदेशमा हुने प्रचार प्रसार तथा आन्तरिक सभा सम्मेलन भेटघाट नगर्न आग्रह गरिसकेको छ । तर विदेशबाट आउने यात्रुहरुलाई उपयुक्त चेकजाँच गरि केही समय भए पनि क्वारेन्टाईनमा राखेर उपचार गर्न सम्वन्धित सरोकारवालाले सरकारसँग आग्रह गरेका छन ।