काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले टारी गाउँ विमानस्थल विस्तारको लागि आगामी बर्षमा समेत बजेट विनियोजन गर्ने बताएका छन । उनले शुक्रबार दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकन गर्दै सो विमानस्थल विस्तारको लागि बजेट विनियोजन गरेको बताउँदै आगामी आवको लागि समेत निरन्तरता दिने बताएका हुन ।
साथै उनले सो विमानस्थलको अवलोकनको क्रममा विमानस्थलमा इन्धन डिपो र ब्राउजर आवश्यक रहेको बताएका छन । अवलोकनमा पुगेका मन्त्री भट्टराईलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमानस्थलका बारेमा जानकारी गराएका थिए । साथै ७५० मिटर लम्बाइ रहेको उक्त विमानस्थललाई १ हजार २ सय मिटर बनाउन पर्याप्त जमिन भएकाले यसको स्तरवृद्धि गर्न कुनै कठिनाइ नभएको जानकारी दिएका छन ।
प्रमुख पाण्डेले दाङमात्रै नभई, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेतलगायतका करिब १० लाख मानिसले सो विमानस्थलबाट सेवा लिन सहज हुने बताएका छन । सो अवसरमा मन्त्री भट्टराईले यस वर्ष टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि बजेट विनियोजन भएको बताउँदै आगामी बर्षमा समेत यसलाई निरन्तरता दिने बताएका छन/रासस