Logo

विना शुल्क हिमाल आरोहण गराउने सरकारको योजना, २ सय हिमालमा पर्यटक पुर्याउने तयारी

विना शुल्क हिमाल आरोहण गराउने सरकारको योजना, २ सय हिमालमा पर्यटक पुर्याउने तयारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले नेपाल भ्रमण बर्ष २०२० लक्षित नयाँ हिमाल नभई पुरानै हिमाल आरोहणको लागि पर्वतारोहीहरुलाई प्रोत्साहन गर्ने भएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले भने, ‘सरकारले नयाँ हिमाल खुलाउने तयारी गरेको होईन विगतमा खुलेर पनि हालसम्म कुनै पनि पर्यटक तथा पर्वतारोहीले आरोहण नगरेको हिमालमा पर्वतारोहण दस्तुर छुट दिएर पर्वतारोही आकर्षित गर्ने तयारी गरेको हो ।’ ‘विगतमा सरकारले खुलाएको करिब ४ सय भन्दा बढी हिमालहरुमा अझै पर्यटक लैजान सकेका छैनौं,’ लामाले भने, ‘त्यसैको लागि सरकारले अहिले के कसरी पर्यटक लैजान सकिन्छ भनेर गृहकार्य गरिरहेको छ ।’


तर अहिले ४ सय नभई कम्तिमा पनि २ सय ओटा हिमालमा केही पर्यटक लैजान सके पनि थोरै राहत पुग्ने लामाको भनाई रहेको छ । ‘भ्रमण बर्षको अवसरमा ‘फ्रि अफ कष्ट’ मा नै भए पनि पर्यटक लैजान सकिन्छ कि भनेर गृहकार्य भईरहेको हो । नयाँ खुलाउने भनेको होईन’, लामाले भने- ‘हामीले भने १५ देखि २० ओटा मात्रै हिमाल खुलाउनको लागि सिफारिस गरेका छौं ।’


जसका लागि सरकारले केही समय अगाडि कुन हिमालमा कसरी पर्यटक लैजान सकिन्छ भनेर सुझाबसमेत माग गरेको थियो । ब्यवसायीहरुले आ–आफ्नो धारणा पेश गरिसके पछि पुरानै हिमाललाई खुलाउने तयारी गरेको मन्त्रालयले जानकारी दिएको छ ।


तर पर्यटन ब्यवसायीहरुले भने भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउन नयाँ हिमाल खुलाएर मात्रै सम्भव नहुने बताउँदै आएका छन । जब सम्म भौतिक पूर्वधारको विकास हुँदैन तब सम्म २०२० मा २० लाख पर्यटक ल्याउन सकिँदैन । हालसम्म नेपाल सरकारले पर्वतारोहणका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ । जसमा केही हिमालमात्र पर्वतारोहीको आकर्षणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्