Logo

बागलुङमा प्याराग्लाइडिङको सफल परीक्षण उडान, पुस ११ देखि संचालनमा ल्याउने

बागलुङमा प्याराग्लाइडिङको सफल परीक्षण उडान, पुस ११ देखि संचालनमा ल्याउने



काठमाडौं । बागलुङ नगरपालिका–६ स्थित पर्यटकीय गन्तव्य पञ्चकोटबाट शनिबार प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ । पोखराका अनुभवी चालक कृष्णबहादुर सुनुवारले उक्त परीक्षण उडान गरेका हुन ।

यही पुसमा सञ्चालन हुने बागलुङ महोत्सवमा प्याराग्लाइडिङ सञ्चालनका लागि परीक्षण उडान गरिएको महोत्सव आयोजक बागलुङ उद्योग वाणिज्य संघले जानकारी दिएको छ । धावनमार्ग र अवतरणस्थल पहिचानका लागि परीक्षण उडान गर्नुपरेको संघका महासचिव नरेश कँडेलले बताए ।

केहीबेर बागलुङको आकाशमा उडेपछि चालक सुनवारले धवलागिरि बहुमुखी क्याम्पसको चौरमा प्याराग्लाइडिङलाई अवतरण गराएका थिए । क्याम्पस प्राङ्गणमा महोत्सव चल्ने हुँदा वैकल्पिक अवतरणस्थलको खोजी भइरहेको छ । कंडेलले भने, ‘उपल्लाचौर, बसपार्क क्षेत्रलगायतका ठाउँ हेर्दैछौँ ।’

उडानका लागि प्राविधिक र वातावरणीय हिसाबले पञ्चकोट उपयुक्त रहेको चालक सुनुवारले बताएका छन । उक्त स्थानमा व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न सकिने उनको भनाई रहेको छ । पञ्चकोट पछिल्लो समय धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको छ ।

प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, हिमशृंखला अवलोकन आदिका लागि पनि पञ्चकोट उत्तम मानिन्छ । धावनमार्गमा आवश्यक पूर्वाधार निर्माण गरी थप व्यवस्थित गरिने महासचिव कँडेलले बताएका छन । ‘बागलुङ महोत्सवको प्रमुख आकर्षणमध्ये प्याराग्लाइडिङ पनि एक हो’, उनले भने, ‘प्याराग्लाइडिङको गन्तव्य पहिचान र नियमित सञ्चालनको वातावरण बनाउन यसले सघाउने हाम्रो विश्वास छ ।’

साहसिक खेलका रुपमा समेत चिनिएको प्याराग्लाइडिङका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य महोत्सव आयोजकले लिएको छ । महोत्सव अवलोकनमा आउने दर्शक÷पर्यटकले प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । निश्चित शुल्क तोकेर उडान गराइने आयोजकले जनाएको छ ।

पर्यटन र व्यापार प्रवर्द्धनसँगै खेल, कला, संस्कृतिको जगेर्नाका लागि आउँदो पुस ११ देखि २० गतेसम्म छैटौँ बागलुङ महोत्सव हुँदैछ । महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई पनि महोत्सवले सघाउने विश्वास लिइएको छ/रासस

प्रतिक्रिया दिनुहोस्