काठमाडौं । बागलुङको बलेवा विमानस्थल बाह्रै महिना सञ्चालन गर्न विमानस्थलको धावनमार्ग (रनवे) कालोपत्रे गरिने भएको छ । धावनमार्गका लागि यो आर्थिक वर्षमा ४ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
२६ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत्र ९ गतेबाट पुःन सञ्चालनमा ल्याएको थियो । संचालन भएको केही समयसम्म नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सले उडान गरे पनि आवश्यक पूर्वाधारको अभावमा उडान बन्द गरेको थियो ।
नगरपालिकाले विमानस्थल सञ्चालनका लागि पहल गरेपनि कच्ची धावनमार्ग, विमानस्थलसम्म पुग्ने सडक कालोपत्रे नहुनुुलगायतका कारण २६ वर्ष पछि सञ्चालनमा आएको विमानस्थल पुनः बन्द भएपछि प्राधिकरणले धावनमार्ग बनाउन बजेट विनियोजन गरेको बागलुङका सांसद डा सूर्य पाठकले जानकारी दिएका छन ।
सरकारले हालै बलेवा विमानस्थल सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्न बहुवर्षीय योजनामा समावेश गरेर बजेट विनियोजन गरेको पाठकको भनाइ रहेको छ । ‘प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न ठेक्का प्रक्रिया अगाडी बढाएको छ’, सांसद पाठकले भने, ‘नगरपालिकासहित सरोकारवाला निकायको पहलमा ३ वर्षमा सक्ने गरी पूर्वाधार निर्माण हुन्छ ।’
धौलागिरीका बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन ।
‘नगरले २६ वर्षपछि बन्द रहेको विमानस्थल सञ्चालनका लागि झण्डै ५० लाख रुपैयाँ लगानी गरिसक्यो, केही समय जहाज पनि चल्यो’, प्रमुख पौडेलले भने, ‘आगामी ३ बर्ष भित्रमा विमानस्थल पुग्ने सडक कालोपत्रे, धावनमार्ग निर्माण गर्ने गरी सरकारले योजनामा समावेश गरेको छ ।’
कालिगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ । मध्यपहाडी लोकमार्ग र कालिगण्डकी करिडोर कालोपत्रे हुने हो भने विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवालाहरु बताउँछन् ।
एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम बागलुङ नगरपालिकाले सुनिश्चितता गरी हप्तामा २ दिन नेपाल एयरलाइन्स र तारा एयरको टुइनअटर विमानले उडान भरेपनि वर्षाको समय धावनमार्गमा हिलो र हिउँदमा धूलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो/रासस