Logo

भ्रमणबर्षको तयारी केन्द्र देखि प्रदेशसम्म : कुन प्रदेशमा के हुँदैछ ?

भ्रमणबर्षको तयारी केन्द्र देखि प्रदेशसम्म : कुन प्रदेशमा के हुँदैछ ?



काठमाडौं । भ्रमण बर्ष सुरु हुन २ महिना मात्रै बाँकी रहँदा केन्द्रदेखि प्रदेशसम्मको तयारी दयनीय अवस्थामा रहेको छ । सरकारले मनाउने लागेको भ्रमण बर्ष २०२० का लागि विभिन्न समिति गठन गरेपनि सोचेअनुरुप कुनै तयारी नभएको पर्यटन बिज्ञहरुको गुनासो रहेको छ ।

सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी कार्यक्रमलाई तीब्र बनाएको बताएपनि आवश्यक पूर्वधारलाई महत्व दिन नसक्दा भ्रमण बर्ष सफल हुनेमा पर्यटन ब्यवसयीहरुको आशंका रहेको छ ।

सरकारले पर्यटकलाई आकर्षित गर्न कुनै पनि नयाँ कार्यक्रम नल्याएको ब्यवसायीहरुले गुनासो गरेका हुन । भन्छन, ‘संधै सगरमाथा, लुम्बिनी, पोखरा, पशुपतिनाथ, स्वयम्भु मात्रै बेचेर हुँदैन, सरकारले पर्यटकको लागि नयाँ ब्राण्ड ल्याउनु पर्छ जुन अहिले सम्म हुन सकेको छैन ।’

तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने भ्रमण बर्ष २०२० को लागि आबश्यक तयारी भईरहेको जानकारी दिएको छ । ‘हामीले गर्नु पर्ने काम गरिरहेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘पूर्वधारमा पनि अगाडी बढी रहेका छौं, भ्रमण बर्ष २०२० भन्ने वित्तिकै २०२० मा नै सबै काम गर्नु पर्छ भन्ने होईन २०३० सम्मलाई भ्रमण बर्ष मनाउने हो त्यति बेला सम्ममा २० लाख होईन ३५ लाख पर्यटक भित्र्याउन हामी सक्षम हुने छौं ।’

उनका अनुसार हाम्रो पर्यटकिय पूर्वधार पनि क्रमश निर्माणको क्रममा रहेको छ । सरकारले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल अब छिट्टै संचालनमा ल्याउने तयारी गरिरहेको छ भने पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल २०२१ भित्रै संचालनमा आउने छ । जसले बाह्य पर्यटक ल्याउन सहज हुने छ ।

कुन प्रदेशको कस्तो तयारी ?

प्रदेश १

८ देखी ९ लाख पर्यटक भित्र्याउने तयारी

प्रदेश १ सरकारले भ्रमण बर्ष २०२० मा ८ देखी ९ लाख पर्यटक भित्र्याउने गरी तयारी गरिरहेको जानकारी दिएको छ ।

प्रदेश सरकारका पर्यटन मन्त्री जगदीशप्रसाद कुसियैतका अनुसार भ्रमण बर्ष २०२० मा प्रदेश सरकारले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिए पनि ८ देखी ९ लाखसम्म पर्यटक भित्र्याउने गरी तयारी भईरहेको बताएका हुन ।

पर्यटक भित्र्याउनकै लागि प्रदेश सरकारले बिभिन्न गन्तब्यहरुको डकुमेन्ट्री बनाई प्रचार प्रसार गरिरहेको कुसियैतले जानकारी दिएका छन । प्रदेश १ मा आउने पर्यटकको लागि खान बस्न अहिले बिभिन्न होटल ब्यवसायीहरुसँग कुरा भईरहेको समेत उनले जानकारी दिएका छन ।

त्यस्तै पर्यटकलाई आकर्षित गर्न विभिन्न गन्तब्यहरुको प्रचार प्रसारसँगै ति क्षेत्रसम्म पुग्नको लागि यातायात तथा बासस्थानको समेत ब्यवस्था भईसकेको मन्त्री कुसियैतले जानकारी दिएका छन ।

प्रदेश २

सरकारले भारतीय गाडी प्रवेशमा रोक नलगाए २० लाख पर्यटक भित्र्याउँछौं

प्रदेश २ सरकारले भने भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने भएको छ । केन्द्र सरकारले २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहँदा प्रदेश २ सरकारले समेत २० लाख पर्यटक भित्र्याउने तयारी गरेको प्रदेश सरकारका पर्यटन मन्त्री राम नरेश रायले जानकारी दिएका छन ।

२० लाख पर्यटक भित्र्याउन गाह्रो छैन तर केन्द्र सरकारले भारतबाट आउने गाडीलाई २९ पटक मात्रै प्रवेश दिएको छ त्यस्लाई सामान्य बनाउनु पर्छ ।

‘हामी कहाँ आउने भनेको बिशेष गरी भारतीय पर्यटकनै हुन बर्षमा १२ पटक त जानकी मन्दिर नै आउँछन,’ उनले भने, ‘भारतीय पर्यटक अनि सरकारले भारतबाट आउने गाडीलाई २९ पटकको प्रवेश जुन दिएको छ त्यसलाई हटाउनु पर्छ ।’ यदि सरकारले त्यो काम गरेको खण्डमा २० लाख भन्दा बढी पर्यटक भित्रिनेमा कुनै दुई मत नहुने उनको दावी रहेको छ ।

उनका अनुसार २० लाख पर्यटकको लागि खान बस्न तथा पर्यटकिय क्षेत्रमा लैजानका लागि भने प्रदेश सरकारले सडक यातायातको सुधार गर्ने देखि घरबास (होमस्टे) को सुधार तथा प्रवर्द्धन गरिरहेको छ । उनले भने, ‘नयाँ होटलहरु निर्माणको लागि प्रथमिकता दिईरहेका छौं भने पुराना होटलहरुलाई समेत स्तोरन्नती गर्न भनेका छौं ।’

प्रदेश नं. ३

केन्द्र सरकारले ल्याउने सबै पर्यटक हाम्रै हो ।

प्रदेश सरकारले पनि आफ्नै तरिकाले तयारी थालेको बताउँछन । तर, केन्द्र सरकारले ल्याउने पर्यटक सबै आफ्नै प्रदेशको हुने प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपाल बताउँछन ।

हवाई मार्गबाट आउने सबै पर्यटक काठमाडौंमा नै झर्ने भएकाले पनि सबै पर्यटक प्रदेश ३ कै हुने उनको तर्क रहेको छ । त्यस्तै स्थलमार्ग तातोपानी नाका र रसुवा नाकाबाट आउने पर्यटक समेत प्रदेश ३ कै हुने मन्त्री नेपालको भनाई रहेको छ ।

प्रदेश ३ सरकारले भ्रमण बर्ष सफल बनाउनकै लागि सडक यातायातलगायतका पूर्वधारमा विशेष जोड दिने भएको छ । त्यस्तै पदमार्गहरुको निर्माण तथा लाङटाङ र हेलम्बुको बीचमा रहेको पास समेत खोल्ने तयारी भईरहेको मन्त्री नेपालले जानकारी दिएका छन ।

जसले पर्यटकलाई थप आकर्षित बनाउने उनको धारण रहेको छ । प्रदेश ३ सरकारले आफ्नो प्रदेशको २ स्थानमा भ्रमण बर्ष र प्रदेश सरकारको लोगो राख्ने भएको छ । प्रदेश सरकारले राख्न लागेको उक्त लोगोको लागि कुलेखानी जलविद्युत आयोजनाको ईन्द्रसरोबर तालको बीचभागमा रहेको टापुमा राख्ने भएको छ ।

अर्को लोगो भने धुलिखेल वा दोलखाको चरिकोटमा राख्ने भन्ने विषय टुङ्गो लाग्न बाँकी रहेको उनले जानकारी दिएका छन । त्यस्तै हरेक महिना धार्मिक स्थल वरपर सरसफाई कार्यक्रम समेत चलाउने तयारी भईरहेको मन्त्री नेपालले जानकारी दिएका छन ।

गण्डकी प्रदेश (४)

पूर्वधारमा विशेष जोड

गण्डकी प्रदेश सरकारले भने भ्रमण बर्ष सफल बनाउनकै लागि विभिन्न पूर्वधारहरु निर्माण गरेको जानकारी दिएको छ ।

प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालका अनुसार भ्रमण बर्ष लक्षित पर्यटकिय गन्तब्यहरुमा पैदलमार्ग निर्माण, सुचना केन्द्र निर्माण, पर्यटकलाई खानबस्नको ब्यवस्थालगायतका पूर्वधार निर्माण तीब्र रुपमा भईरहेको छ ।

‘विगतको तथ्याङ्क अनुसार नेपाल आउने पर्यटक मध्ये ४० देखी ५० प्रतिशतको हाराहारीमा पर्यटकहरु गण्डकी प्रदेशमा प्रवेश गरेका छन’, लम्सालले भने, ‘म २०२० भन्दिन तर २०२२ मा गण्डकी प्रदेशको जनसंख्या जति छ त्यति पर्यटक भित्र्याउँछौं ।’

उनले भने, ‘हामीले २०१९–२०२२ पर्यटन बर्ष भनेर काम गरिरहेका छौं,२०१९ मा करिब १५ लाख आन्तरिक पर्यटक ल्याउने हाम्रो उद्देश्य रहेको छ जुन पुरा हुँदै छ ।’ त्यस्तै २०२१ मा पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय पोखरा विमानस्थल संचालन पछि दैनिक ५ हजार पर्यटक भित्र्याउने गरी पूर्वधार निर्माणमा जोड दिएको लम्सालले जानकारी दिएका छन ।

प्रदेश नं. ५

बुद्धिष्ट पर्यटक भित्र्याउने तयारी

प्रदेश ५ सरकारका पर्यटन मन्त्री लिला गिरीले भने नेपालमा आउने विदेशी पर्यटकलाई आफ्नो प्रदेशमा भित्र्याउने तयारी भईरहेको जानकारी दिएका छन । प्रदेश ५ मा बिशेष गरी बुद्धिष्ट क्षेत्रहरु भएकाले पर्यटक भित्र्याउन खासै समस्या नरहेको उनको दाबी रहेको छ ।

पर्यटक ल्याउनकै लागि प्रदेश स्तरिय समिति तथा हरेक जिल्लाहरुमा समेत समिति बनेको छ,’ उनले भने, ‘प्रचार प्रसार केन्द्रकै नीति अनुसार भईरहेको छ हामीले केही कार्यक्रमहरु तयार गरेका छौं आवश्यक्ता अनुसार अघि बढ्ने छौं ।’

कर्णाली प्रदेश ६

१ लाख पर्यटक भित्र्याउँछौं

कर्णाली प्रदेश सरकारले भने भ्रमण बर्षको लागि गुरु योजना तयार पारे पनि भ्रमण बर्षकै दिन सार्वजनिक गर्ने बताएका छन ।

भ्रमण बर्षको तयारीका लागि आबश्यक बजेट नभएकाले बार्षिक कार्यक्रम अनुसारनै हुने कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्द सिं बुढाले जानकारी दिएका छन । अहिले बार्षिक ३० हजार पर्यटक मात्रै कर्णाली प्रदेशमा भित्रिएकाले भ्रमण बर्षको अवसरमा कम्तिमा पनि १ लाख पर्यटक भित्र्याउने गरी तयारी भईरहेको बुढाले जानकारी दिएका छन ।

पर्यटकलाई खान बस्नको लागि समेत पर्याप्त होटलको संख्या नभएकाले घरबास (होमस्टे) लाई प्रवर्द्धन गरि पर्यटकिय क्षेत्रको प्रचार प्रसार भईरहेको मन्त्री बुढाको भनाई रहेको छ ।

प्रदेश ७ सुदुरपश्चिम

भर्खर योजना बन्दै

भ्रमण बर्ष सुरु हुन २ महिना मात्रै बाँकी हुँदा सुदुर पश्चिम प्रदेस सरकारले भने भर्खर योजना बनाउने तयारीमा लागेको जानकारी दिएका छन ।

प्रदेश सरकारका पर्यटन मन्त्री माया भट्टका अनुसार समन्वय समितिको बैठकबाट भर्खरै भ्रमण बर्षको लागि गन्तब्य पहिचान गर्ने निर्णय भएको र सोही अनुसार योजना बनाई अघि बढ्ने बताएकी छिन ।

पर्यटक भित्र्याउनकै लागि विभिन्न ५ ओटा करिडोर निर्माणको लागि निर्णय भए पनि काम भने सुरु नभएको समेत उनले जानकारी दिएकी छिन । सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी सबै प्रदेशमा तयारी गरेको बताए पनि सुदुरपश्चिममा भने तयारी शुन्य देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्