Logo

विमानस्थल संचालनमा नआउँदा पर्यटकमा कमि, हेलिकोप्टर चार्टर गर्नु पर्ने अवस्था

विमानस्थल संचालनमा नआउँदा पर्यटकमा कमि, हेलिकोप्टर चार्टर गर्नु पर्ने अवस्था



काठमाडौं । मनाङको एकमात्र हुम्डे विमानस्थल परीक्षण उडान भए पनि हालसम्म कुनै उडान हुन सकेको छैन । विमानस्थल निर्माण भएको ७ वर्षपछि समिट एयरलाइन्सले भदौ २७ गते परीक्षण उडान गरेको थियो । सफल उडान भएपछि खुशी भएका मनाङवासी नियमित उडान नहँुदा निरास भएका छन् ।

पर्यटक भित्रिने समयमा मनाङमा हवाइ उडान सञ्चालन हुन नसक्दा पर्यटक आउन सकेका छैनन् । विमान सञ्चालन हुन सकेको भए विमानबाट आउने–जाने पर्यटकको संख्यामा वृद्धि हुने पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन ।

विमानस्थल सञ्चालन नहँुदा मनाङ आउने पर्यटक वृद्धि हुन नसकेको गुरुङको भनाइ छ । उनले भने, ‘आउने पर्यटक पनि बिरामी परेको खण्डमा महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्नु पर्ने अवस्था रहेको छ ।’

विमानस्थलमा निरन्तर उडान भर्न सक्ने हो भने मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको सहज यात्रा र पर्यटक वृद्धि हुने पर्यटन व्यवसायीहरुको भनाइ रहेको छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयले पर्यटक आउने मुख्य याममा हप्ताको दुई पटक उडान भर्ने बताउँदै आएपनि हाल सम्म कुनै उडान हुन सकेको छैन ।

गण्डकी प्रदेशका पर्यटन उद्योग वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार प्रदेश सरकार सो विमानस्थलमा नियमित उडान गर्ने तयारीमा रहेको बताउँछन । सो क्षेत्रमा उडान भर्न सक्ने एक मात्र विमान चालक रहेको र निजी कम्पनी उडान भर्न तयार नहुँदा ढिलाइ भएको मन्त्री लम्सालको भनाइ रहेको छ ।

स्थानीय तहको पहलमा परीक्षण उडान सफल भएपछि मनाङले पर्यटन क्षेत्रको विकासमा फड्को मार्ने आशा बोकेका थियौँ, तर नियमित उडान नहुँदा निराशाबाहेक केही हुन नसकेको ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्मछिरिङ गुरुङ बताउँछन ।

उनले भने, ‘पर्यटक आउँछन् कोही बिरामी परेर फर्कन्छन् । सडक पनि गतिलो छैन हेलीकोप्टर चार्टर गर्न महँगो पर्छ । कमसेकम नियमित उडान भइदिए धेरैले समयमा उपचार पाउने थिए ।’
विसं २०७९/७० मा यस विमानस्थल कालोपत्रे बनाए पनि हालसम्म कुनै पनि उडान हुन सकेको थिएन ।

२०७६ भदौ २७ गते परीक्षण उडान सफल भएपछि भने निकै आशा बोकेका मनाङवासीलाई हात्ती आयो हात्ती आयो फुस्साजस्तो भएको छ गुरुङले भने/रासस

प्रतिक्रिया दिनुहोस्
MBL