Logo

पर्यटकलाई आकर्षित गर्न पोकली झरना महोत्सव हुँदै, पूर्वाधार निर्माणमा १ करोड ३५ लाख बजेट

पर्यटकलाई आकर्षित गर्न पोकली झरना महोत्सव हुँदै, पूर्वाधार निर्माणमा १ करोड ३५ लाख बजेट



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्ने उद्देश्यले पोखली झरना सेवा समाजले ‘पोकली झरना महोत्सव’ गर्ने भएको छ ।

ओखलढु्ङ्गाको पर्यटकीय क्षेत्र पोकली झरना परिसरमा यही कात्तिक १६ र १७ गते ‘पोकली झरना महोत्सव’ हुने भएको हो । पोकली झरनाको प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ सो महोत्सव गर्ने भएको हो ।

झरनाको सौन्दर्य र महत्वलाई विश्वसामु चिनाउने उद्देश्यले सो महोत्सव गर्न लागेको समाजका अध्यक्ष अध्यक्ष मिलन विष्टले जानकारी दिएका छन ।

सरकारको एक सय गन्तब्यमा समेत परेको उक्त झरना महोत्सवको लागि संघीय सरकारले २५ लाख रुपैयाँ, प्रदेश सरकारबाट ५० लाख र गाउँपालिकाबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका सांसद यज्ञराज सुनुवारले पनि आफ्नो सांसद विकास कोषमार्फत ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन ।

१ करोड ३५ लाख रुपैयाँ बजेटबाट पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गर्नेगरी पोकलीको विस्तुत गुरुयोजना तयार हुँदै गरेको समेत अध्यक्ष विष्टले जानकारी दिएका छन ।

त्यस्तै वृत्तचित्र निर्माण, ‘फन पार्क’, झरना आसपासमा सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ ओटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको समाजका महासचिव शम्भु बरालले जानकारी दिएका छन ।

धान झुलेको र गुराँस फूलेको बेला पर्यटकीय आकर्षण थप्ने पोकली झरना हिँउदको समयमा पनि क्यानोनिङलगायत खेलका लागि आकर्षक मानिन्छ । यो क्षेत्रमा बाहै्रमहिनै पर्यटकीय गतिविधि बढाउन पनि महोत्सवले टेवा पुग्ने आयोजकको बुझाई छ ।

महोत्सवका अवसरमा राष्ट्रियदेखि स्थानीय कलाकारले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । शेर्पा, तामाङ, गुरुङ, सुनुवार,मगरलगायत समुदायको स्थानीय झाँकी प्रदर्शन गरिनेछ । विसं २०३६ मा स्थापना भएको संस्थाले पोकली क्षेत्रको पर्यटन प्रवद्र्धनार्थ विभिन्न महोत्सव गर्दै आएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL