Logo

लाङटाङ क्षेत्रमा बढे पर्यटक, ३ महीनामा ९ हजारले गरे निकुञ्ज भ्रमणमा

लाङटाङ क्षेत्रमा बढे पर्यटक, ३ महीनामा ९ हजारले गरे निकुञ्ज भ्रमणमा



काठमाडौं । लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको संख्या बढ्न थालेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून संख्यामा आएपनि शरद ऋतुमा भने पर्यटकको संख्यामा वृद्धि भएको छ । शरद ऋतुमा वर्षाको कमी हुनाका साथै कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य देखिने भएकाले अवलोकनका लागि पदयात्रा गर्न आन्तरिक एवं वाह्य पर्यटकको आगमन बढ्दै गएको हो ।

गत साउन, भदौ र असोज महीनामा ६ हजार ६ सय आन्तरिक र २ हजार ५ सय १४ विदेशी पर्यटक निकुञ्जभित्र प्रवेश गरिसकेका छन् । तीमध्ये ४३ जना सार्क राष्ट्रका भएको निकुञ्जका प्राविधिक बस्नेतले बताए ।

हिमाली दृश्य अवलोकनका लागि आउने आन्तरिक एवं वाह्य पर्यटकले पवित्र तीर्थ गोसाइँकुण्ड, लाङटाङ क्षेत्र, तामाङ सम्पदा पदमार्गअन्तरगत गतलाङ, नाकथलीलगायत क्षेत्रको भ्रमण गर्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन ।

आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति १ सय रुपैयाँ, सार्क मुलुकका लागि १ हजार ५ सय रुपैयाँ र अन्य वाह्य मुलुकका पर्यटकका लागि ३ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

तीर्थका लागि गोसाइँकुण्डको विशेष मेला अवधिभर नेपाली यात्रुका लागि मात्र शुल्क नलाग्ने व्यवस्था मिलाइएको निकुञ्जले जनाएको छ । विगत ३ महिनामा पर्यटक शुल्कबाट संकलित ८१ लाख ३७ हजार ५ सय रुपैयाँ राजश्व दाखिला भइसकेको छ ।

राजधानी काठमाडौंदेखि छोटो दूरी र प्राकृतिक स्थलको जिल्ला भएकाले सो क्षेत्रमा भ्रमणमा आएका पर्यटकले सात दिनमा पूरै गन्तव्यस्थल घुमिसक्ने, अर्काेतर्फ उच्च भागका चन्दनवारी, लौरीविनायक, गोसाइँकुण्डमा र लाङटाङ क्याङजेन, नाकथलीसमेतका स्थानमा खानेबस्ने राम्रो सुविधा भएको लाङटाङका पर्यटन व्यवसायी तेम्वा लामाले जानकारी दिएका छन ।

सो क्षेत्रमा पानी पर्न रोकिएसँगै जमीनमा कुहिरो नउठ्ने, हिमाल दिनभर खुल्ला हुने र अग्लो स्थानमा सेताम्मे हिउँ समथर र हरियाली पाखा, विभिन्न प्रजातिका चरा उडिरहने अस्मिज बाँदरलगायत अन्य जनावरहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

सुन्दरीजलदेखि गोसाइँकुण्ड यात्रा गर्ने पर्यटकले लौरीविनायक, चोलाङपाटी, ठूलोस्याफ्रु, लामा होटल हँुदै लाङटाङ, शेर्पा गाउँ वृद्धिम, थुमन, नाकथली, गतलाङ पर्वतीकुण्ड, गोल्जुङ, स्याफ्रुबेँसी पुगेर बसबाट काठमाडौँ फर्कन सक्ने छन्/रासस

प्रतिक्रिया दिनुहोस्
MBL