Logo

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग, १२ किलोमिटर पदमार्गको स्तरोन्नती

साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरि पदमार्ग, १२ किलोमिटर पदमार्गको स्तरोन्नती



काठमाडौं । म्याग्दीको धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुँदै गएको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धौलागिरि हिमालको फन्को मार्न र आधार शिविरसम्मको पदयात्रामा जाने पर्यटक आकर्षित हुन थालेका हुन् ।

केही वर्ष अघिसम्म न्यून विदेशी पर्यटकमात्रै भ्रमणमा आउने उक्त पदमार्गमा पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको आगमनसमेत बढ्न थालेको इटाली आधार शिविरमा होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले जानकारी दिएका छन ।

‘धेरै दिनको यात्रा गर्नुपर्ने भएकाले यो क्षेत्र विदेशी पर्यटकको रोजाइमा मात्रै पर्ने गरेको थियो, पछिल्लो समय नेपाली पर्यटक पनि आउन थालेका छन ।’ उनले भने, पदमार्ग, झोलुङ्गे पुललगायतको पूर्वाधार बन्न थालेपछि पदयात्रामा आउने पर्यटकलाई राहत मिलेको छ ।’

धौलागिरि पदमार्गमा पूर्वाधार बन्दै गएपछि हत्केलामा ज्यान राखेर भिरमा हिँड्नुपर्ने बाध्यता क्रमशः हट्दै गएको छ भने पदयात्रा पनि सुरक्षित हुन थालेको छ । धौलागिरि पदमार्ग साहसिक पर्यटनको सम्भावनायुक्त क्षेत्र हो, यसको प्रचारप्रसार र अत्यावश्यक पदमार्गलगायतका पूर्वाधार निर्माणलाई पूर्णताः दिनतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको पर्यटकहरु बताउँछन ।

पदमार्गअन्तरगत नाउराको भिर, इटाली क्याम्पदेखि स्विस क्याम्प जाने पदमार्ग र जापानी क्याम्पदेखि आधार शिविरसम्मको ग्लासियर क्षेत्र पदयात्राको लागि अनौठो र साहसिक भएको पर्यटकहरुले बताउने गरेका छन ।

पछिल्लो समय पदमार्गअन्तरगत सबैभन्दा जोखिमयुक्त रहेको नाउराको भिरदेखि बगर, दोभान, सल्लाघारी, इटाली बेस क्याम्प हुँदै स्विस क्याम्पसम्मको पदमार्गलाई स्तरोन्नति गरिएको छ । गण्डकी प्रदेश र संघीय सरकारमार्फत प्राप्त भएको ६५ लाख रुपैयाँ बढी बजेटबाट करीब १२ किलोमिटर पदमार्गलाई निर्माण र मर्मत गरिएको हो ।

पदमार्ग निर्माणसँगै धौलागिरि आधार शिविर र चक्रीय धौलागिरि र हिमाल आरोहणको लागि जाने पर्यटकलाई राहत भएको छ । जोखिमपूर्ण पदमार्ग र सञ्चारको पहुँच नभएको कारण आधार शिविर जानको लागि पर्यटकले हेलिकप्टरको प्रयोग गर्दै आएका छन् । आरोहणमा जाने अधिकांश पर्यटक हेलिकप्टरमार्फत जाने भए पनि धौलागिरिको फन्को लगाउने र आधार शिविर पुग्ने पर्यटक भने पदमार्ग हुँदै ओहोरदोहोर गर्छन् ।

धौलागिरि पदमार्गमा मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृष्य पदयात्राको मुख्य आकर्षण रहेको छ । ग्लेसियर क्षेत्रमा रहेका हिमतालसमेत पर्यटकको आकर्षण बन्ने गरेका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL