काठमाडौं । पाल्पाका ऐतिहासिक, धार्मिक, प्राकृतिक तथा सामाजिक–सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको पूर्वाधार निर्माण गरी पर्यटकिय गन्तव्यका रुपमा विकास गरिने भएको छ । प्रदेश नं ५ सरकारको सहयोगमा पाल्पा सांस्कृतिक डबली, वनस्पति उद्यान, पर्यटकिय उद्यान, धार्मिक, सांस्कृतिक महत्व झल्कने गरी ऐतिहासिक तथा पर्यटकिय क्षेत्र प्रवद्र्धन तथा पूर्वाधार विकास निर्माणका कार्यक्रम ल्याएको छ ।
जिल्ला वन कार्यालय पाल्पाद्वारा आर्थिक बर्ष २०७६/७७ मा सञ्चालन हुने गरी १३ पर्यटकिय गन्तव्य विकासका लागि ८ करोड २५ लाख रुपैयाँ बराबरको कार्यक्रम तथा बजेटको अख्तियारी पाएको हो । केही योजना गत आवमा सुरु भई बाँकी काम सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट बजेटको व्यवस्थापन भएको हो ।
पाल्पा पर्यटकिय क्षेत्रका रुपमा परिचित छ । प्रदेश सरकारबाट पाल्पाको तानसेनस्थित श्रीनगरमा सांस्कृतिक डबली, नुवाकोटमा सांस्कृतिक डबली निर्माण हुने भएका छन् । श्रीनगर डबलीमा ३ करोड रुपैयाँको बजेट खर्च हुनेछ । श्रीनगर डबलीको काम गत वर्षदेखि सुरु भएको हो । तिनाउ गाउँपालिकाको नुवाकोटमा १ करोड ५० लाख रुपैयाँमा डबली निर्माण हुने भएको हो ।
प्रदेश सरकारको सहयोगमा तिनाउ गाउँपालिकाको दोभानमा शहीद चुनमाया उद्यान पूर्वाधार निर्माण, तानसेन श्रीनगरमा उद्यान निर्माणको काम हुनेछ । चुनुमाया उद्यानलाई १० लाख र तानसेनको श्रीनगरको उद्यानका लागि २० लाख रुपैयाँ बजेट जिल्ला वन कार्यालय खर्च गर्ने अख्तियारी पाएको हो ।
पाल्पाको पूर्वी भेगको रामपुरस्थित राम्चेमा पर्यकटिय पूर्वाधार विकास गर्न ५० लाख, रम्भा गाउँपालिकाको रिम्घा क्षेत्रमा पर्यटकिय गन्तव्यका लागि ५० लाख रुपैयाँ बजेट छ । यस आवमा खर्च हुने गरी माथागढी गाउँपालिका–२ मा रहेको पिपलडाँडामा पर्यकटिय पूर्वधार विकास शीर्षकमा २० लाख, रिब्दीकोट गाउँपालिकास्थित भैरवस्थान पर्यटन पूर्वाधार विकासमा ३० लाख बजेट रहेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन पौडेलले बताएका छन ।
त्यसैगरी रम्भा गाउँपालिकाकै ऐतिहासिक रमनेश्वर पर्यटकिय गुरुयोजना निर्माण तथा सौन्दर्यीकरणका लागि ५० लाख, रिब्दीकोटको पर्यटकिय स्थल पूर्वाधारमा खर्च हुने गरी २५ लाख, बगनासकाली गाउँपालिका–८ स्थित महामृत्युन्जन्य शिवाशन मन्दिर निर्माणमा ३० लाख, रैनादेवी छहरा गाउँपालिका–५ स्थित तिलकस्थान उद्यान तथा पूर्वाधार विकासमा १० लाख, बगनासकाली गाउँपालिका–९ मा देवीस्थान मन्दिर पर्यटकिय पूर्वाधार निर्माणमा १० लाख रुपैयाँको बजेट रहेको छ ।
बगनासकाली गाउँपालिकाकै वडा नं २ नौबिसेस्थित जनशिवालय मन्दिरमा धार्मिक पर्यटन प्रवद्र्धनमा १० लाख, रम्भा गाउँपालिकाकै हुँगी पर्यटकिय विकासमा १० लाख बजेट छ । रैनादेवी छहरा गाउँपालिकाको बल्डेगढीबाट नुवाकोटगढीसम्म पर्यटकिय पदमार्ग निर्माणका लागि ५० लाख बजेट यस आवमा खर्च हुनेछ ।
पाल्पा जिल्लामा जडीबुटी तथा गैरकाष्ठ वन पैदावार संरक्षण, व्यवस्थापनलगायतका क्षेत्रमा खर्च हुने गरी प्रदेश सरकारबाट १ करोड ७६ लाख रुपैयाँको डिभिजन वन कार्यालयलाई अख्तियारी पठाएको हो ।
पाल्पाको वन अतिक्रमण हटाई व्यवस्थापन, सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन, सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन, अग्नि नियन्त्रणसम्बन्धी सामग्री उपकार तथा सामान खरिद तथा वितरण, वनमा डढेलो नियन्त्रण, व्यवस्थापन योजना कार्यान्वयन, फलफूल बिरुवा उत्पादन खरीद, अन्य बिरुवा उत्पादनमा ३७ लाख संघीय सरकारबाट कार्यक्रम तथा बजेटको अख्तियारी पठाएको डिभिजन वन कार्यालय पाल्पाको दाबी छ ।
संघीय सरकारबाट जडीबुटी विकास कार्यक्रममा ४० लाख, वातावरण विभागतर्फ १ लाख ४० हजार बजेट पाल्पामा खर्च हुनेछ । संघीय सरकारबाट यस आवमा खर्च हुने गरी वन कार्यालयमा ७६ लाखको अख्तियारी रहेको छ । सहकारीमार्फत जडीबुटी उत्पादन, खेती विस्तार, भण्डार तथा प्रशोधन गर्नेछन/रासस