काठमाडौं । आर्थिक बर्ष २०७४/७५ मा ३२ विमानस्थलमध्ये १३ ओटाले मात्र नाफा कमाउन सफल भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित १३ ओटा विमानस्थल नाफा कमाउन सफल भएका हुन । नाफा कमाउन सफल हुने विमानस्थलहरुमा चन्द्रगढी, विराटनगर, सिमरा, पोखरा, गौतमबुद्ध, नेपालगञ्ज र धनगढी विमानस्थललगायतका रहेका छन ।
हवाई सेवाको विकास विस्तारका लागि मुख्य पूर्वाधारका रुपमा रहेको विमानस्थलमा अर्बौं लगानी गरिए पनि त्यसको प्रतिफल भने १३ ओटा विमानस्थलले मात्रै दिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार लगानी गरिएका विमानस्थलबाट मुस्किलले वार्षिक साधारण खर्च मात्र धान्ने गरेका छन् । विकास खर्चमा त्यो रकम समावेश हुँदैन ।
प्राधिकरणले गत आर्थिक वर्षमा ६ अर्ब र विमानस्थल शुल्कबापत दुई अर्ब गरी जम्मा आठ अर्ब रुपैयाँ नाफा कमाएको थियो । वार्षिक बजेटको तुलनामा यसलाई नाफा कमाएको मान्न सकिन्न । उक्त आर्थिक वर्षमा प्राधिकरणले ४५ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको थियो ।
प्राधिकरणले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकता दिएर बजेट छुट्याइएको छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि एकमुष्ट २३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
प्राधिकरणको विवरणमा मुलुकभर रहेका ५० वटा विमानस्थलमध्ये हाल ३२ सञ्चालनमा रहेका छन् । प्राधिकरणले नाफा कमाउनेभन्दा पनि राज्यको नीतिअनुरुप सेवामूलक हिसाबले धेरै विमानस्थल सञ्चालनमा रहेकाले नाफा आर्जन गर्न नसकेको महानिर्देशक पोखरेलको भनाइ छ ।
सन् २०२० को सुरुआतमै सञ्चालन गर्ने लक्ष्यका साथ भैरहवा विमानस्थल निर्माण कार्य तीब्र गतिमा अघि बढको छ । हालसम्म विमानस्थलको ७४ प्रतिशत काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्धारित समय भन्दा अगाडि नै निर्माण सम्पन्न गर्नेगरी निर्माण कार्य भइरहेको छ । अहिले यो आयोजनाको प्रगति ३० प्रतिशतभन्दा बढी रहेको छ ।
चालू आवका लागि प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुदृढीकरणका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । पहिलोपटक धावनमार्गको स्तरोन्नति ‘रनवे रिह्याव’ हालै सम्पन्न भएको थियो भने सेप्टेम्बर महीनादेखि विमानस्थलको ‘ट्याक्सी वे’ स्तरोन्नतिको काम धमाधम भइरहेको छ ।
नजिकिएको नेपाल भ्रमण वर्ष २०२० अभियान सुरु हुनु अगाडि नै विमानस्थलको स्तरोन्नतिको काम सकिने पव्राधिकरणले जानकारी दिएको छ/रासस