Logo

निजी हवाई सेवा प्रदायक कम्पनीलाई पर्यटन मन्त्रीको आग्रह, पाप र धर्मको ख्याल गर्नु

निजी हवाई सेवा प्रदायक कम्पनीलाई पर्यटन मन्त्रीको आग्रह, पाप र धर्मको ख्याल गर्नु



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले निजी हवाई सेवा कम्पनीहरुलाई पाप र धर्मको ख्याल गर्न आग्रह गरेका छन ।

उनले चितवनमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीले आनाकानी गर्न नहुने भन्दै सो कुरा बताएका हुन् ।

ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएको भन्दै ५० प्रतिशत छुट दिनु पर्ने बताएका हुन । विमान कम्पनीले नै सामाजिक उत्तरदायित्व अन्तरगत यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उनले धर्म र पापको पनि ख्याल गर्न आग्रह गरेका हुन ।

उनले भने, ‘मान्छे कसैसँग नडराए पनि पाप र धर्मसँग डराउनुपर्छ । सबैसँग छलफल गरेर यो निर्णय कार्यान्वयन हुन्छ ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थललाई वैकल्पिक आन्तरिक विमानस्थलका रुपमा विकास गरिने बताएका छन ।

त्यस्तै मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई नै आन्तरिक विमानस्थल बनाउने बताएका छन । उनले भरतपुर विमानस्थललाई रात्रिकालीन बनाउने, धावनमार्ग थप गर्ने, ट्रमिनल भवन आधुनिक र व्यावसायिक बनाउने जानकारी दिएका हुन ।

नेपालभरका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौं उपत्यका नजिकै रहेको यो विमानस्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने बताएका हुन । विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिनभित्रै समाधानको बाटोमा लैजाने गरी अगाडि बढेको मन्त्री भट्टराईले जानकारी दिएका छन ।

उनले भने, ‘अबको १० दिनभित्रमा नेपाली सेनाको प्रमुख, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवालाबीच संयुक्त बैठक बसेर यो समस्या समाधान गर्नेछौँ ।’ विमानस्थलमा ठूला जहाज ल्याउनका लागि पहिलो चरणमा विमानस्थल विस्तारलाई जोड दिइने मन्त्री भट्टराईले बताए ।

भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा हुने बताउँदै उनले विमानस्थलको स्तरोन्नति गरिने बताएका हुन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL