काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को हवाई महानिर्देशकहरुको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ ।
उक्त सम्मेलनको तयारी गर्न आइकाओको टोली शनिबार नै नेपाल आएको थियो । आइकाओको टोली मार्फतनै तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । काठमाडौंको सोल्टी होटलमा भोली (सोमबार देखी शुक्रबार) ५ दिन सम्म चल्ने सो सम्मेलनलाई प्रधान मन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन । उक्त सम्मेलनमा आइकाओका अध्यक्षलगायतले समेत सहभागिता जनाउने भएको छ ।
५ दिन सम्म चल्ने उक्त सम्मेलन नेपालमा नै हुने भए पनि त्यसको तयारी भने आईकाओले गरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार प्रम ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षा र सेफ्टि विषयमा जानकारी गराउने कार्यक्रम रहेको छ ।
आइकाओमा १९३ सदस्य राष्ट्र भए पनि नेपालमा हुने उक्त सम्मेलनमा भने एसिया प्रसान्त क्षेत्रका ४६ राष्ट्रले मात्रै सहभागिता जनाउने भएका हुन । जसमा ४६ देशका हवाई महानिर्देशकहरुको सहभागिता रहने प्राधिकरणले जानकारी दिएको छ ।
५ दिने सो सम्मेलनमा एसिया प्रसान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली संघ, बोईङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा) लगायत नागरिक उड्डयन क्षेत्रका १४ ओटा संघसंस्थाले सहभागिता जनाउने प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।
पौड्यालका अनुसार सम्मेलनमा एसिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुनेछ ।