Logo

यात्रुको माग अनुसार उडान थप गर्दै निगम, टरिगाउँ विमानस्थलमा दैनिक दुई उडान

यात्रुको माग अनुसार उडान थप गर्दै निगम, टरिगाउँ विमानस्थलमा दैनिक दुई उडान



काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दैै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो ।

एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार यही साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौंका लागि नियमित दुई वटा विमानले उडान अवतरण गर्ने भएका छन । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको उनको भनाई रहेको छ । ‘यात्रुहरुको चाप निकै हुन थाल्यो, टिकट धेरै माग हुन थाल्यो’, उनले भने, ‘त्यसैले हामीले हवाई उडानलाई थप गर्न लागेका हौं ।’

लामोसमयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित बनाइएको हो । कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको उक्त विमानस्थल अहिले भने दैनिक दुई वटा सम्म उडान हुने भएका हुन ।

विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम समेत अन्तिम चरणमा पुगेको निर्माण व्यवसायीका प्रमुख सुरेश आचार्यले बताए । ६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरिगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो ।

२०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । गएको वर्ष कात्तिकदेखि उक्त विमानस्थलमा निगमले दैनिक सेवा दिन थालिएको हो/रासस

प्रतिक्रिया दिनुहोस्