काठमाडौं । नेपाल पर्यटक प्रहरीमा आर्थिक वर्ष २०७५/७६ मा ६ सय ३३ उजुरी परेको छ । पर्यटक प्रहरी भृकुटिमण्डप बृत्तका अनुसार उक्त उजुरी मध्ये ३१ ओटा उजुरीको मात्र समस्या समाधान भएको छ । साथै अन्य उजुरीको पनि समस्या समाधान गर्ने तयारी भईरहेको छ ।
गत आवमा कुल ४ सय १२ पुरुष र दुई सय २१ महिलाका उजुरी परेका थिए । उक्त उजुरी मध्ये सबै भन्दा बढी उजुरी बैशाखमा ८२ र सबै भन्दा कम असार र फागुनमा ३२ वटा रहेको बित्त प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिएका छन ।
बस्नेतका अनुसार बृतमा आउने उजुरीमध्ये विशेष गरी कागजपत्र, झोला, ल्यापटप, मोवाइल तथा बैंक कार्ड जस्ता सामान हराएका घटना सबै भन्दा बढि रहेको छ । त्यस्तै, चोरी, ठगी, पोकेटमार तथा शारिरिक तथा मानसिक दुरब्यवहार सम्बन्धी उजुरी परेको पर्यटक प्रहरीको तथ्याङकमा उल्लेख छ । पर्यटक प्रहरीको तथ्याङक अनुसार चोरी तथा ठगी सम्बन्धी १ सय २ ओटा उजुरी दर्ता भएका छन ।
बस्नेतका अनुसार पर्यटकका हराएका कागजात घटनामा दूतावाससँग समन्वय गरि ट्राभल डकुमेन्ट बनाउन सहयोग पुर्याउँदै छ । पासपोर्ट लगायतका कागजात हराएका पर्यटकलाई भिसा अवधिको आधारमा समयमा नै आफ्ना देश फर्कनु पर्ने भएका कारण दुुतावासको पत्र बनाउनमा सहयोग गर्दे आएको र उक्त कुरा तथ्याङकमा नदेखिएको बस्नेतको भनाई रहेको छ ।
पछिल्लो समय अनलाईनबाट दर्ता गरिएका होटलहरुमा भने अनुसारको सेवा तथा सुविधाहरु नपाएको भन्ने पर्यटकका गुनासो सम्बन्धी उजुरी आउन थालेको समेत बस्नेतले जानकारी दिएका छन । त्यस्ता प्रकृतिका घटनामा सम्बन्धित होटलसँगको सहकार्यमा समस्या सामाधान गर्ने गरेको उनको भनाई रहेको छ ।