Logo

निजगढ विमानस्थलको अन्यौलता कायमै, गौतम बुद्ध विमानस्थलको काम ७५ प्रतिशत, यस्तो छ पोखराको प्रगति

निजगढ विमानस्थलको अन्यौलता कायमै, गौतम बुद्ध विमानस्थलको काम ७५ प्रतिशत, यस्तो छ पोखराको प्रगति



काठमाडौं । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको मोडालिटि टुङ्गो लगाउन नसक्दा विमानस्थल निर्माणको अन्यौल अझै हटेको छैन ।

यस अघिसम्म विभागीय मन्त्री नहुँदा र सरकारले कुन मोडालिटिमा जाने भनेर निर्णय नदिँदा आयोजना समेत अलमलमा परेको नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतका राष्ट्रिय गौरवको आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिएका छन ।

अहिले नीतिगतकाम मात्रै भएको र अन्य कुनै पनि काम अगाडि नबढेको अधिकारीले जानकारी दिएका छन । तर मन्त्रालयका सहसचिव निता पोखरेलले भने उक्त विमानस्थल निर्माणको लागि बजेट विनियोजन गरिसकेको बताउँदै मोडालिटिमात्रै टुङ्गो लगाउन बाँकी रहेको बताएकी छिन ।

मोडालिटि टुङ्गो लाग्ने वित्तिकै काम अगाडी बढ्ने र त्यसको लागि लगानी बोर्डले समेत काम गरिरहेको उनले जानकारी दिएकी छिन । उक्त विमानस्थल निर्माणको लागि केही समय अगाडी कोरियन कम्पनी एलएमडब्लुले गरेको पूर्व सम्भाब्यता अध्ययन प्रतिवेदनलाई परिमार्जित गरी नयाँ ढङ्गबाट जान आयोजनाले सरकारको निर्णय पर्खेको हो ।

तर अहिले सम्म सरकारले भने कुनै निर्णय दिन नसक्दा आयोजना अन्यौलमा परेको हो । आयोजना प्रमुख अधिकारीले भने सरकारले निर्णय नदिए सम्म काम अगाडी बढाउन नसक्ने जानकारी यस अघिनै दिईसकेको छ । कोरियन कम्पनीले बनाएको सो प्रतिवेदनमा भने नेपालीको हितमा नभएको भन्दै आयोजनाले उक्त प्रतिवेदन परिमार्जन गर्न लागेको हो ।

त्यस्तै आयोजना प्रमुख अधिकारीले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको जानकारी दिएका छन । उनका अनुसार उक्त विमानस्थलको काम ७५ प्रतिशत सम्पन्न भए पनि थप काम सम्पन्न गर्न अझै समय लाग्ने देखिन्छ ।

‘हामी ले २०१९ भित्र काम सम्पन्न गर्ने भनेका हौं संचालनमा ल्याउने भनेका होईनौ’, अधिकारीले भने, ‘पूर्वधारको काम मात्रै सकेर मात्रै हुँदैन त्यहाँ भित्र गर्नु पर्ने अन्य काम धेरै हुन्छ जुन आजै गर्छु र सकाउँछु भनेर सकिँदैन ।’

आयोजनाले २०१९ भित्र भौतिक निर्माणको काम सम्पन्न गरे पनि संचालन गर्न भने नसक्ने जानकारी दिएको हो । त्यसतै २०२१ भित्रै संचालनमा ल्याउने गरी कामलाई तिब्रता दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल समेत तोकिएकै समयमा संचालनमा नआउने भएको छ ।

आयोजना प्रमुख अधिकारीले भने, ‘२०२१ भित्र हामीले निर्माणको काम सम्पन्न गर्ने भनेका हौं, संचालन गर्ने भनेका होईनौं ।’ निर्माणको चरणमा छ केही बाधा अड्चन भएन भने २०२१ भित्रै सम्पन्न होला नत्र भन्न सकिँदैन संचालनको कुरा त पछि सोच्ने हो पहिले निर्माण सम्पन्न गर्नु पर्छ उनले भने । हाल उक्त विमानस्थलको ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्