काठमाडौं । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन २०१८ मा ६९ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ आम्दानी भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिजम स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । सन २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख रुपैयाँ आम्दानी भएको थियो ।
उक्त आम्दानी सन २०१५÷२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो । उक्त वर्ष ४१ अर्ब ७६ करोड पाँच लाख रुपैयाँ आम्दानी भएको थियो ।
२०१८ मा पर्यटकको बसाइँ अवधि औसत १२÷४ दिन रहेको थियो । पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन । अघिल्लो वर्ष पर्यटकको बसाइँ अवधि १२÷६ दिन थियो ।
२०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक आएका थिए जुन अघिल्लो वर्षको तुलनामा २४÷७७ प्रतिशतले बढी हो । सन २०१७ मा नौ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
विगत वर्षझै २०१८ मा पनि छिमेकीमूलुक भारत र चीनबाट धेरै पर्यटक नेपाल भ्रमणमा आएका थिए । नेपालमा बढी पर्यटक भित्रने ५ मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छ । भारतबाट २०१८ मा १ लाख ९४ हजार ३२३ र चीनबाट १ लाख ५३ हजार ६३३ र पर्यटक नेपाल आएका थिए ।
बढी पर्यटक भित्रने मुलुकमा संयुक्त राज्य अमेरिका तेस्रोमा छ । अमेरिकाबाट ९१ हजार ८९५, चौथोमा रहेको बेलायतबाट ६३ हजार ४६६ र श्रीलङ्काबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए ।
नेपाल आउने विदेशी पर्यटकमध्ये अधिकांश बिदा, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि आउने गरेका छन । २०१८ मा ७ लाख ३ हजार ८४३ बिदा मनाउन र १ लाख ८७ हजार ६९२ धार्मिक कामका लागि आएको सो स्टाटिसटिक्समा उल्लेख छ । त्यस्तै साहसिक पर्यटनमा रुचि राख्नेहरुको रोजाइँमा पनि नेपाल पर्ने गरेको छ/रासस