Logo

भ्रमण वर्षको पूर्वसन्ध्यामा सबै पर्यटन कम्पनीमा तालाबन्दी गर्ने श्रमिकको चेतावनी

भ्रमण वर्षको पूर्वसन्ध्यामा सबै पर्यटन कम्पनीमा तालाबन्दी गर्ने श्रमिकको चेतावनी



काठमाडौं । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन यूनिट्राभले मजदुरलाई शोषण गर्ने पर्यटन कम्पनीहरुमा तालाबन्दी गरिदिने चेतावनी दिएको छ । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो प्रतिनिधि परिषद् बैठकमा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले पर्यटन क्षेत्रका अधिकांस व्यवसायीले मजदुरमाथि शोषण गरिरहेको भन्दै तालवन्दी गर्ने घोषणा गरेका हुन ।

नियमसंगत कार्य गर्ने श्रमिकलाई कानूनअनुरुपको पारिश्रमिक, सेवा सुविधा र सामाजिक सुरक्षा प्रदान गर्न आग्रह गर्दै उनले सरकारले नै कानून उल्लघन गरेको आरोप लगाएका छन ।
‘नेपाल एयरलायन्स लगायत पर्यटन क्षेत्रका सरकारी निकायमै मासिक करिब ६÷७ हजार रुपैंया परिश्रमिक दिइन्छ,’ उनले भने, ‘यो लज्जाष्पद विषय हो, हामी मजदुरमाथि शोषण गर्ने सरकारी संस्था होस् या व्यवसायीक कम्पनीलाई अब छाड्ने अवस्थामा छैनौं । मजदुर मार्ने काम भयो भने हामी हात ठाडो पार्न बाध्य हुनेछौं । कम्पनीमा तालाबन्दी गर्न बाध्य हुनेछौं ।’

आउटसोर्सिङ कम्पनीले हाल पर्यटन क्षेत्रमा दादागिरी गरिरहेको भन्दै ती सबै संगठनको दादागिरीलाई ठेगाना लगाइने उनको भनाई थियो । अध्यक्ष पराजुलीले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मजदुरको सहयोग बीना पर्यटन क्षेत्र सफल हुन नसक्ने भन्दै संगठनले पर्यटन क्षेत्रमा अप्रिय अवस्था नआओस भन्नका लागि बेलैमा सोच्न पनि सरकारको ध्यानाकर्षण गराएको हो ।

‘भ्रमण वर्षमा मजदुरको भूमिका के हो ? यदि मजदुरले ट्रेकिङ गर्न छाडिदिए भने, हिमाल चड्न छाडिदिए भने के भ्रमण वर्ष सफल होला,’ उनले प्रश्न गर्दै भने, ‘हामी बेलैमा मजदुरको सहभागीतासहित नीतिगत र अन्य व्यवस्थामा लाग्न सरकारको ध्यानाकर्षण गराउँदछौं ।’
कार्यक्रममा नेपाल ट्रेड यूनियन (जिफन्ट) का महासचिव जनक चौधरीले ट्रेड यूनियन अधिकारका लागि मुख ताक्ने होइन नेतृत्व गर्न र नीति बनाउने तहमा पुग्न पर्यटन श्रमिकहरुलाई निर्देशन समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL