Logo

बिहीबारदेखी काठमाडौंमा तेस्रो हिमालयन ट्राभल मार्ट, नेपाल सहित ४१ देशको सहभागिता

बिहीबारदेखी काठमाडौंमा तेस्रो हिमालयन ट्राभल मार्ट, नेपाल सहित ४१ देशको सहभागिता



काठमाडौं । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण बिहीबार देखी हुने भएको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजामा जुन ६ देखी ९ तारिक सम्म हुने उक्त मार्टमा नेपाल, भारत, पाकिस्तान, चीन, भुटान र थाईल्याण्ड लगायतका देशहरुको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

यस पटकको बीटुबी मार्टमा करिब ३० देशका क्रेता कम्पनी र ६ ओटा देशको ५४ विक्रेता कम्पनीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार सो मार्टमा ४१ देशका ७ सय जनाको सहभागिता रहने छ ।

हिमालयन ट्राभल मार्ट नेपाललाई अन्तरराष्ट्रिय रुपमा चिनाउने शसक्त ब्राण्डको रुपमा विकास हुँदै गएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले जानकारी दिएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा अन्तरराष्ट्रिय एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाहरुको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले आयोजना गर्न लागेको हो ।

हिमालयन ट्राभल मार्ट देशकै प्रमुख अन्तरराष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित हुँदै गइरहेको र यसमा आयोजना गरिने बी–टु–बी कार्यक्रमले नेपालको पर्यटन पर्वद्धनले विश्व सामु चिनाउन पुगेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए ।

जोशीले नेपाल भ्रमण वर्षकोे पूर्व सन्ध्यामा आयोजना हुन गईरहको मार्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत सहयोग पुग्ने बताएका छन ।

मार्टले देशको पर्यटकीय गन्तव्य, वस्तु तथा सेवाको प्रचारप्रसार र बजारीकरण, लगायत विश्वब्यापी पर्यटन एवम हस्पिट्यालिटी संघसंस्थाहरु, कम्पनीहरु र हिमालयन पर्यटन क्षेत्र सम्बन्धित विविध क्षेत्रमा आवद्ध ब्यवसायी तथा व्यक्तित्वहरुबीच व्यापार आदान प्रदान गराउने असिमित अवसरहरु प्रदान गराउने छ ।

प्रतिक्रिया दिनुहोस्