Logo

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन ।

प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।

प्रम ओलीले भने, ‘हामी आज राष्ट्र निर्माणको एउटा राष्ट्रिय अभियानमा जुटिरहेका छौँ, यस्तो बेलामा साहस र धैर्यतासँगै आत्मविश्वासको पनि आवश्यकता छ, त्यही आत्मविश्वासका साथ अगाडि बढेर देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सक्दछौं ।’ उनले भने, ‘हामीले पासाङल्हामुबाट प्रेरणा र हौसला लिनुपर्छ, असम्भव भन्ने चिज केही छैन । असम्भवलाई सम्भव बनाउन सक्दछौँ, देशलाई विकसित गर्न सक्छौँ ।’

प्रम ओलीले पासाङल्हामु नेपाली महिलाको लागि प्रेरणा र साहसको प्रतीक हो भन्दै नेपाली महिला पनि कम छैनन, सगरमाथाको शिखरमा पाइला टेक्न सक्छन् भन्ने दृष्टिान्त पहिलो पल्ट नेपाली महिलाको तर्फबाट पासाङल्हामुले पुष्टि गरेको बताए ।

नेपालको पर्वतारोहणको गौरवपूर्ण इतिहास रहेको र यस पटक सगरमाथाको पुनः उचाइ मापनको काम अघि बढाइएकाले यसको वास्तविक उचाइ पत्ता लाग्ने प्रम ओलीले जानकारी दिएका छन । उनले भने, ‘सगरमाथाको उचाइका सम्बन्धमा विभिन्न भिन्नता देखा परेका छन् । तीनलाई कुनै विवाद नहुने गरी सोको टुङ्गो लगाइनेछ । नेपाल र चीन दुवैतर्फबाट सगरमाथाको वास्तविक उचाइ पत्ता लगाइनेछ ।’

प्रधानमन्त्री ओलीले प्रतिष्ठानकै परिवारका महत्वपूर्ण सदस्य पर्यटन व्यवसायी स्व आङछिरिङ शेर्पा, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व रवीन्द्र अधिकारीसहित पर्यटन क्षेत्रका विशिष्ट व्यक्तिको निधनप्रति दुःख व्यक्त गर्दै उनिहरुको परिवारजनप्रति सरकार र प्रतिष्ठानले गर्नसक्ने काम गर्ने प्रतिबद्धता जनाएका छन ।

पासाङल्हामु स्मारकस्थल चुच्चेपाटी, बौद्धमा पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले पासाङल्हामु शेर्पा मेमोरियल कलेजका उत्कृष्ट विद्यार्थी ममता बराल, रञ्जना गौतम, सोभिता गौतम, विकास अधिकारीलगायतलाई नगदसहित पुरस्कृत गरेका छन /रासस

प्रतिक्रिया दिनुहोस्