Logo

पर्यटन मन्त्री नहुँदा अन्यौलमा आयोजना, नागीडाँडामा विमानस्थल नबन्ने पक्का

पर्यटन मन्त्री नहुँदा अन्यौलमा आयोजना, नागीडाँडामा विमानस्थल नबन्ने पक्का



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निधनसँगै अन्य काम पनि पछि धकेलिएको छ । सरकारले वैकल्पिक विमानस्थलको रुपमा नागीडाँडालाई आन्तरिक विमानस्थल बनाउने काम अझै अघि बढ्न सकेको छैन ।

सरकारले विमानस्थल बनाउन काम अघि सारे पनि वातवरण प्रभाव मूल्याङकन (इआइए) माहाशाखाले प्रतिवेदन नबुझाउँदा अन्यौलमा परेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले इआइएका लागि फाईल अगाडी सारे पनि एक बर्ष वितिसक्दा समेत सोको प्रतिवेदन नआएको प्राधिकरणले जानकारी दिएको हो ।

मन्त्री अधिकारीनै नभए पछि नागीडाँडा विमानस्थलको काम अहिले अलपत्र परेको छ । सम्भवत सो विमानस्थल नबन्ने पक्का पक्की भएको छ । केही समय अगाडी धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यञ्जु श्रेष्ठले सार्वजनिक रुपमा नै नागीडाँडामा विमानस्थल नबनाउने बताएका थिए । उनले भने, ‘हामीलाई ठूला संरचना होईन हामी साना साना संरचना बनाएर अघि बढ्छौं ।’

तर प्राधिकरणमा महानिर्देशक संजिब गौतमले भने विमानस्थल बनाउने कुरा मेयरले भनेको भरमा नहुने बताएका छन । सरकारलाई आवश्यक परेको खण्डमा बनाउने हो । उनले भने, ‘विमानस्थल जसरी पनि बन्छ, ढिलो चाँडो होला त्यो आफ्नो ठाउँमा छ । हामी अहिले इआईए प्रतिवेदन नआएकाले रोकेका मात्रै हौं ।’

पर्यटन मन्त्री नभएकै कारण रोकेको हो इआईए भन्न प्रश्नमा गौतमले भने, ‘त्यसो त विलकुलै होईन होला हामीले गर्नु पर्ने काम त गरीराखेकै छौं तर वातवरण विभाले फाईल रोकेर राखेको छ । गर्नु पर्ने कामलाई मन्त्री नभए पनि प्रधानमन्त्री मार्फत गरीरहेका छौं ।’

प्राधिकरणका अनुसार प्रतिवेदन आए पछि प्रस्तावित विमानस्थलको जीयो टेक्निकल स्टडी, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा मुआब्जको काम सुरु गर्नेछन ।

स्वर्गिय मन्त्री अधिकारीले उक्त स्थानमा आन्तरिक विमानस्थल बनाउनकै लागि गत बैशाखमा अध्ययन भ्रमण समेत गरेका थिए । भ्रमण पछि विज्ञटोलीले समेत विमानस्थल बनाउन उपयुक्त रहेको प्रतिवेदन बुझाए पछि काम अगाडी बढेको थियो । प्राधिकरणले समेत सो विमानस्थल बनाउन करिब ५० लाख रुपैयाँ बजेट विनियोजन गरे पनि हाल सम्म कुनै काम अगाडी बढन सकेको छैन ।

८ सय मिटरको रनवे बनाउन साढे ३ अर्ब तथा १२ सय मिटरको रनवे बनाउन साढे ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरे पनि अहिले सम्म इआईए प्रतिवेदन नआएको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिएका छन ।

त्यस्तै मन्त्री अधिकारीले २०१९ मा नै संचालनमा ल्याउने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल पनि निधारित समयमा संचालन नहुने पक्का भएको छ । आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार धावन मार्ग र ट्याक्सी वे को कालो पत्रे अबको एक महिना भित्रै सम्पन्न गरी अन्य कामलाई अगाडी बढाउने भएको छ । तर विमानस्थल संचालन भने २०२० मा मात्रै हुने उनले जानकारी दिएका छन ।

उनका अनुसार विमानस्थल निर्माणको लागि गर्नु पर्ने ठूला निर्णयहरु स्वर्गीय पर्यटन मन्त्री अधिकारी आफैंले गरेका हुनाले अहिले खासै समस्या नरहेको बताए । उनले भने, ‘मन्त्री अधिकारी विकास प्रेमी मान्छे हो संधै घचघच्याई रहनु हुन्थ्यो १ बर्ष अगाडीको विमानस्थल र अहिलेको विमानस्थलमा आकास पातल फरक आईसक्यो संचालन गर्न निर्धारित समय भन्दा २÷४ महिना तलमाथी हुन सक्छ ।

मन्त्री अधिकारीको निधनसँगै उनले चालेका कदमहरु एक पछि अर्को गर्दै पूरा नहुने भएको छ । अहिले मन्त्री अधिकारीको अभाव खड्की रहेको मन्त्रालय मातहतका कार्यालयहरुलाई आभाष हुन थालेको छ ।

कुनै काम गर्न नीति नियमन गर्ने अधिकारीनै नरहे पछि काम गर्न असहज भएको सम्बद्ध अधिकारीहरु बताउँछन । मन्त्री अधिकारीले जुन अवधारणका साथ काम अगाडी बढाएको थियो अव त्यो कामहरु निधारित समयमा पुरा नहुने उनिहरुको दाबी रहेको छ ।

पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले भने अभिभावक नै नरहे पछि केही काम गर्न त अवश्य पनि गाह्रो त हुन्छ नै । उनले भने, ‘अहिले भ्रमणबर्षको संयोजकको रुपमा पनि मन्त्रीनै भएका कारणले नागरिक उड्डयन प्राधिकरण लगायत सबै क्षेत्रमा समन्वय गर्नु पर्ने भएकाले ठूलो अभाव खड्केको छ ।’

तर मन्त्रालयका सहसचिव सुरेश आचार्यले भने मन्त्री नभए पनि सानासाना कामहरु सचिवको मातहतमा भईरहेको जानकारी दिएका छन । मन्त्रिपरिषदबाट पास गर्ने कामकुराहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत गर्दा केहि ढिला भएको उनले जानकारी दिए ।

प्रम ओलीको समय अभावका कारणले पनि पर्यटन क्षेत्रमा केही काम ढिला भएको हो । उनले भने, ‘पर्यटन मन्त्री नहुँदाको अभाव त छँदै छ सँगसँगै केही काम गर्न समेत ढिला भएको छ ।’ तर पोखरा अन्तरराष्ट्रिय विमानस्थल भने निधारित समय भन्दा ६ महिना अगाडीनै सम्पन्न हुने भएको छ ।

राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदिप अधिकारीले भने, ‘हाम्रो राष्ट्रिय गौरवका आयोजना मध्ये सम्भवत यो नै पहिलो विमानस्थल हुने छ । जुन तोकिएको समय भन्दा करिब ६ महिना अगाडीनै सम्पन्न गर्दै छौं ।’ सो विमानस्थलको बुधबार मात्रै रनवे निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्