Logo

हरिहरपुर देखी सिन्धुलीगढीसम्म नयाँ पदमार्ग अध्ययन सुरु, पर्यटन प्रवर्द्धन गर्न सहयोग

हरिहरपुर देखी सिन्धुलीगढीसम्म नयाँ पदमार्ग अध्ययन सुरु, पर्यटन प्रवर्द्धन गर्न सहयोग



काठमाडौं । समृद्ध सिन्धुली अभियानले हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोड्ने पदमार्गको अध्ययन सुरु गरेको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सो पदमार्गको अध्ययन सुरु गरेको सिन्धुली अभियानले जानकारी दिएको छ ।

अभियानका संयोजक लीलानाथ घिमिरेका अनुसार प्रस्तावित पदमार्गले सिन्धुलीका हरिहरपुरगढी, मरिण, घ्याङ्लेख, सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाले जोड्ने छ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीका गढीहरुलाई चिनाउन विभिन्न प्रयास गर्दै आएको छ ।

अभियानले सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा काठमाडौंदेखि सिन्धुलीगढीहुँदै जनकपुरसम्म हरेक बर्ष साइकल यात्रा गर्दै आएको छ । अभियानले गत बर्ष सिन्धुलीगढीहुँदै महाभारत डाँडैडाँडा नयाँ पदमार्गको सम्भावना अध्ययन गरेको थियो ।

काभ्रेको नमोबुद्धबाट सिन्धुलीगढी हुँदै सिन्धुलीकै फिक्कलसम्म अभियानको टोलीले १५ दिन लगाएर अध्ययन यात्रा गरेको थियो । अध्ययनले पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्ग स्थापित गर्न सकिने देखाएको छ ।

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्गमा आवश्यकताअनुसार लामो र छोटो दुरीमा यात्रा गर्न सकिन्छ । यसलाई खगोल, बनस्पत्ति अध्ययनका लागि समेत उपयोग गर्न सकिने छ । ग्रेट महाभारत ट्रेल अध्ययन गर्न यात्रा सुरु गरेको एक बर्ष पुगेकै दिन अभियानको टोली यस बर्ष हरिहरपुरगढी र सिन्धुलीगढी पदमार्ग अध्ययन गर्न लागेको हो ।

उनले भने, ‘हामी ऐतिहासिक स्थलको पर्यटन प्रवद्र्धन गरेर सिन्धुलीलाई समृद्ध बनाउने प्रयासमा छौ ।’ अध्ययन टोलीले यात्राको क्रममा बाटोमा पर्ने ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवा, जात्रा, पर्व, जातजाती, संंस्कृति, जातीय खानेकुरालगायतको अध्ययन गर्ने छ ।

नेपाललाई चिनाउने ऐतिहासिक स्थलबारे प्रचार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर देशकै आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने अर्का अभियन्ता सौरभ ढकाल बताउँछन् ।

ढकालले यसअघि प्रख्यात आरोही आप्पा शेर्पाको टोलीसँग पूर्वताप्लेजुंगदेखि पश्चिम दार्चुलासम्म हिमाली क्षेत्रमा ९९ दिन ग्रेट हिमालयन ट्रेल यात्रा गरेका थिए । उनले पर्यावरण जोगाउँदै स्थानीय खानेकुरा, स्थानीय संस्कृतिको प्रबर्धनमा पदमार्गले सघाउने बताए ।

समृद्ध सिन्धुली अभियानले नेपाल पर्यटन बोर्डसँग मिलेर आगामी वैशाख महिनामा पर्यटन बोर्डको प्राङगणमा सिन्धुली जिल्लालाई पहिचान दिलाउने फोटोहरुको प्रदर्शनी फोटो नेपाल आयोजना समेत गर्ने भएको छ ।

उक्त प्रदर्शनीमा सिन्धुलीलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थलहरु, सिन्धुलीलाई चिनाउने पूर्वधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायतका तस्बिर राखिने छ ।

अभियानका संयोजक लीलानाथ घिमिरेसहित प्राविधिक, समाजशास्त्री लगायत ८ जनाको समुह हरिहरपुरगढीबाट सिन्धुलीगढीतर्फ लागेको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकिकरण थालेपछि त्यसलाई रोक्न काठमाडौंका शासकहरुले ब्रिटिस इन्डिया कम्पनीसँग सहयोग मागेका थिए । तिनै शासकलाई सघाउन आएका अंग्रेजी फौजलाई विक्रम संवत् १८२४ मा गोर्खाली फौजले सिन्धुलीगढीमा परास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्