काठमाडौं । सरकारले भ्रमणवर्ष २०२० मनाउँदै गर्दा ठूला होटल तथा रेष्टुँरामा लगानी भने घट्दै गईरहेको छ । २०२० लाई भ्रमण वर्ष मनाउने र २० लाख पर्यटक भित्र्याउने सपना बुन्दै गर्दा होटल तथा रेष्टुँरामा भने लगानी घट्दै गईरहेको छ ।
कम्पनी रजिष्टारको कार्यालयले उपलब्ध गराएको तथ्याङक अनुसार अघिल्लो महिनामा अर्ब रुपैयाँ अधिकृत पुँजी भएका होटल संचालनको लागि दर्ता भए पनि पछिल्लो महिनामा भने ५० करोड रुपैयाँ सम्मका मात्रै होटल दर्ता भएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक बर्षको पछिल्लो १ महिनामा १ सय ९१ होटल तथा रेष्टुँरामात्रै दर्ता भएको हो । जुन अघिल्लो महिनामा ३ सय १९ होटल तथा रेष्टुँरा दर्ता भएको थियो ।
कार्यालयका तथ्याङक अनुसार १० लाख रुपैयाँ सम्म अधिकृत पुँजी भएका होटल तथा रेष्टुँरा ३० रहेको छ भने १० लाख रुपैयाँ देखी ५० लाख रुपैयाँ सम्मका होटलहरु ७१ ओटा दर्ता भएका छन ।
५० लाख रुपैयाँ देखी १ करोड रुपैयाँ सम्म अधिकृत पुँजी भएका होटल रेष्टुँराको संख्या ४६ रहेको छ भने १ करोड रुपैयाँ देखी ५० करोड रुपैयाँ सम्मका ४४ ओटा होटल तथा रेष्टुँरा दर्ता भएको छ ।
जस मध्ये ५० करोड रुपैयाँ लगानी भएको होटल तथा रेष्टुँरामा सराङकोट ड्रिमल्याण्ड पोखरा मात्रै रहेको छ ।