Logo

प्रधानमन्त्रीको स्पष्टीकरण, ‘वाइडबडी खरिद प्रक्रियामा पर्यटन मन्त्री अधिकारी निर्दोष छन्’

प्रधानमन्त्रीको स्पष्टीकरण, ‘वाइडबडी खरिद प्रक्रियामा पर्यटन मन्त्री अधिकारी निर्दोष छन्’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा पर्यटन मन्त्री स्वर्गीय रविन्द्र अधिकारीको कुनै हात नरहेको बताएका छन । शुक्रबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।

राजनीतिमा विश्वास गर्न लायक बन्दै गर्दा र पार्टी नेतृत्वमा आउने बेलामा अधिकारीको निधन भएको भन्दै ओलीले दुख व्यक्त गरे ।

नेकपा संसदीय दलको बैठकले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत ७ जनाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रम ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर केही तत्वले उनको बद्नाम गर्न खोजेको बताए । ‘यतिबेला अरू धेरै कुरा त केही भन्न चाहन्न अत्यन्तै अनुचित ढंगले वहाँको कुनै सरोकार नभएको बिषय वाइबडीको सन्दर्भमा जोडेर केही तत्वहरुले उहाँलाई बद्नाम गर्न खोजे जो सम्पूर्ण रुपमा निराधार कुरा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘उहाँले कुनै लोभलालचका लागि होइन र वहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी वहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।’

वाइडबडीका बारेमा अधिकारीलाई आरोप लगाउनु दुखद भएको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘मलाई दुःख लाग्छ कि वहाँ जस्तो कर्मठ, क्रियाशिल मानिसलाई अनुचित ढंगले, त्यस प्रकारले आरोप लाञ्छनाहरु लगाउने र अपमान गर्ने कामहरु पनि भयो ।’

यसैगरी बैठकले मृततका परिवारको लालनपालनका लागि सरकारको ध्यानआकर्षण गराउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL