Logo

आन्तरिक उडानका ‘टाइकुन’ आङ छिरिङ, जसले यति र तारा ब्रान्ड मार्फत विकटमा उडान पुर्याए

आन्तरिक उडानका ‘टाइकुन’ आङ छिरिङ, जसले यति र तारा ब्रान्ड मार्फत विकटमा उडान पुर्याए



काठमाडौं । लामो समयदेखि पर्यटन क्षेत्रलाई ब्यवसाय बनाउँदै आएका आङ छिरिङ शेर्पाको बुधबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ ।

नेपालको विकट क्षेत्रमा हवाई उडान भर्न पहिलो पटक यति एयरलाईन्स भित्र्याएका शेर्पाको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसँगै बुधबार ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको हो ।

उनको थाम शेर्कु ट्रेकिङ कम्पनीले राम्रो ब्यापार गरे पछि दुर्गम क्षेत्रका लागि सेवा दिन १९९८ मा पहिलो पटक यति एयरलाईन्स खोलेका हुन । यतीले ब्यवसायिक उडान थालेको १ दशक पछि आन्तरिक उडानको लागि नेपालकै ठुलो आन्तरिक एयरलाईन्स बन्न सफल भएको थियो ।

पछिल्लो समयमा यती एयरलाईन्सले ३ ओटा एटिआर जहाज समेत थप गरि आफ्नो उडानलाई अझ विस्तार गर्दै लगेको छ । एयरलाईन्सले हाल काठमाडौं, भैरहवा, जनकपुर, भद्रपुर, तुम्लिङटार, नेपालगञ्ज, पोखरा, विराटनगर लगायतका स्थानमा आफ्नो उडान भर्दै आईरहेको छ ।

उनको भाई डेण्डी शेर्पाको सक्रियतामा संचालन भएको उक्त एयरलाईन्सले सन् २००९ मा यसको सिस्टर एयरलाईन्स तारा एयर स्थापना गरिएको थियो । यती र तारा एयरलाईन्सले नेपालभरी ४१ ओटा डबल ईन्जिनवाला जहाजबाट सेवा दिदैं आईरहेको छ । ताराले खास गरि कर्णालीका क्षेत्र हुम्ला, जुम्ला, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम लगायतका विकट क्षेत्रमा उडान भर्दै आईरहेको छ ।

भाई डेण्डी शेर्पाको २०५६ सालमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भए पछि आङ छिरिङले उक्त कम्पनी सम्हाल्दै आएका थिए । उनै शेर्पाले संचालनमा ल्याएको यति र तारा एयरबाट सडक सञ्जाल नपुगेका हिमाली क्षेत्रमा कार्गो र यात्रु ओसार्न ठूलो राहत पुगेको छ । अहिले तारा एयरले ६ ओटा जहाज मार्फत विकट क्षेत्रमा आफ्नो उडान भर्दै आईरहेको छ ।

शेर्पाले एयरलाइन्ससँगै पर्यटकलाई खान र बस्न मिल्ने खालका होटल समेत संचालनमा ल्याएका थिए । उनको अहिले सोलु, पोखरा, अन्नपूर्ण क्षेत्रलगायतमा गरि करिब १२ ओटा होटल रहेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का महासचिव आङपेम्बा शेर्पाले बताए ।

शेर्पाको निधनले आफुहरु अहिले टुहुरो भएको बताउँदै यतिका प्रवक्ता भिष्मराज राईले भने, ‘पर्यटन क्षेत्रका धरोहरको अकल्पनीय क्षति भएको छ, यो क्षति परिपूर्ति गर्न लामो समय लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL