Logo

पर्यटकिय गन्तब्य बन्दै रुवालुङ झरना, विश्राम कक्षसहितको पदमार्ग निर्माण हुँदै

पर्यटकिय गन्तब्य बन्दै रुवालुङ झरना, विश्राम कक्षसहितको पदमार्ग निर्माण हुँदै



काठमाडौं । धार्मिक तथा पर्यटकीयस्थल भुलभूले दूधकुण्डबाट करीब एक किलोमिटर माथी प्राकृतिक रुपले भरिपूर्ण जङ्गलको फेदमा मनै लोभ्याउने ‘रुवालुङ’ झरनामा पर्यटकको संख्या दिनानुदिन बढ्दै गएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको माम्खामा पर्ने भुलभुले दूधकुण्डको ठीकमाथि रहेको झरना पुग्न पदमार्ग निर्माण गरिएको छ ।

नगरपालिकाको क्रमागत योजनाअन्तर्गत चालू आर्थिक वर्षमा छु्याइएको १० लाख रुपैयाँ लगानीमा ढुङ्गा बिच्छ्याएर झरनासम्म पुग्न पदमार्ग निर्माण गरिएको हो ।

मध्यपहाडी लोकमार्गदेखि करीब १ किलोमिटरमाथि रहेको उक्त झरनामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । जहिले सङ्लो र सेतो पानी देखिने झरनामा अहिले दैनिक १ सय ५० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक अवलोकन र सेल्फी खिच्न आउने गरेको स्थानीयवासी बताउँछन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करीब १० किलोमिटर पर पर्ने भुलभुलेमा सवारीसाधन पार्किङ गरेर झरनासम्म पुग्न पैदलयात्रा गर्नुपर्छ । पर्यटकको चाप बढ्दै गएपछि होटलसमेत विस्तार हुँदै गएको भुलभुलेमा पर्यटकका लागि निःशुल्क पार्किङ गर्ने स्थानसमेत निर्माण गरिएको छ ।

करीब १ सय मिटर अग्लो झरनामा बाह्रैमहीना एउटै आकारको पानी देखिन्छ । गौथले र गिद्धे सामुदायिक वनको बीचमा मुहान रहेको पानी झर्ने झरनामा स्नान गरे रोगव्याधि नाश हुने विश्वास रहिआएको छ । चट्टानै चट्टानको बीचबाट झर्ने झरनाको पूर्वपट्टि पौराणिक इतिहास बोकेको झाँक्रीबास गुफा छ । झरना नजिकै रहेको गुफामा पहिले वन झाँक्री बस्ने गरेको स्थानीय वृद्ध राजनसुर राईले बताए ।

ठूला पहाड र जङ्गलको बीचमा रहेको प्राकृतिक गुफामा अहिले पनि वनझाँक्रीको पूजाआजा गर्ने चलन रहिआएको छ । गुफामा गएर वन झाँक्री पूजाअर्चना गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । केही वर्षअघिसम्म ओझेलमा रहेको झरनामा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेपछि झरनासम्म पुर्याइएको पदमार्गलाई व्यवस्थित गर्न स्तरोन्नतिको तयारी गरिएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले जानकारी दिएका छन ।

अहिले निर्माण गरिएको पदमार्गलाई पर्यटकीयस्थल श्रीधन चौतारा हुँदै सिकुरी भञ्ज्याङ–हर्कटेडाँडा–बगरे भञ्ज्याङसम्म पुर्याउने योजना बनाएका छौं, उनले भने, ‘झरना हेर्न आउने पर्यटकलाई भरपुर मनोरञ्जन दिलाउन विभिन्न ठाउँको दृष्य देख्न सकिने पर्यटकीयस्थल घुमाउन पदमार्ग विस्तार गर्न लागिएको हो ।’

ठाउँठाउँमा विश्रामकक्षसहितको पदमार्ग निर्माण केही दिनमै सुरु गरिने निर्माण उपभोक्ता समितिले जानकारी दिएको छ । नगरभित्र रहेको पर्यटकीयस्थलको स्तरोन्नति गर्दै नगरको आन्तरिक आयस्रोत वृद्धि गर्न लागिपरेको नगरपालिकाले जानकारी दिएको छ / रासस

प्रतिक्रिया दिनुहोस्
MBL