Logo

३ करोड लगानीमा गोदावरीमा प्याराग्लाइडिङ सुरु, प्याराग्लाइडिङको मजा लिन अब पोखरा धाउनु नपर्ने

३ करोड लगानीमा गोदावरीमा प्याराग्लाइडिङ सुरु, प्याराग्लाइडिङको मजा लिन अब पोखरा धाउनु नपर्ने



काठमाडौं । खुला आकाशमा चराझैँ उड्न चाहने साहसिक खेलमा रमाउन उपत्यकावासीले अब बाहिरी जिल्ला धाउनु नपर्ने भएको छ । हावाको बेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृङ्खला र उपत्यका एकैसाथ हेरेर रमाउन महत्वपूर्ण गन्तव्य बन्न पुगेको छ ललितपुरको गोदावरी ।

पोखरामा प्रख्यात साहसिक पर्यटनको रुपमा चिनिने प्याराग्लाइडिङ अब उपत्यकामै पाउनु खुशीको कुरा भएको पर्यटकहरुको भनाइ छ । डेढ दशक अघि पोखराको सराङकोटबाट सुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदै छ । देशको राजधानी रहेको उपत्यकामै प्याराग्लाइडिङ सञ्चालन भएपछि प्याराग्लाइडिङको मजा लिन अब पोखरा धाउनु नपर्ने भएको छ ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लिलाबहादुर बानियाँ गोदावरीको यो एउटा मात्रै प्याराग्लाइडिङ स्पट, साहसिक पर्यटनका लागि महत्वपूर्ण आयाम भएको बताउँछन । काठमाडौंबाट सजिलै जान सकिने यो नयाँ गन्तव्यका कारण पर्यटन प्रवद्र्धन हुने विश्वास गरिएको बानियाँले बताए ।

नेपाल भ्रमण वर्ष सन २०२० मा २० लाख बढी पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । यसलाई पूरा गर्न यसले ठूलो मद्दत गर्ने छ ।

३ करोड लगानी

विगतका बन्द हुँदै र खुल्दै आएको प्याराग्लाइडिङ हाल ३ करोड रुपैयाँ लगानीमा पुनः यही डिसेम्बर अन्तिमबाट सञ्चालन गरिएको हो । यो अवधिमा ३ सय फ्लाइट भइसकेको छ ।
काठमाठौं प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ प्रालिको व्यवस्थापनमा चल्दै आएको छ । दृष्यावलोकनका लागि महत्वपूर्ण क्षेत्र भएर पनि उचित प्रचारप्रसार हुन नसक्दा व्यवसाय सन्तोषजनक नभएको निर्देशक नीरज पन्तको भनाईरहेको छ ।

२००७ मा पूर्वमन्त्री केशव स्थापितले संस्था स्थापना गरी प्याराग्लाइडिङ उडाउने पहल थालेका हुन । सन २०११ देखि १४ सम्म राम्रो चलेको थियो । भूकम्पछि भने खासै चल्न नसकेको पन्तले बताए ।
कोरियाली च्याङ जिङ ख्वानसहित नेपाली व्यवसायी नारायण अर्याल, विनोद शाह, कुमार घिमिरे र ट्रिप कन्सर्नको ३ करोड बढीको लगानीमा अहिले पुनः सञ्चालनमा ल्याइएको हो ।

६ जना ग्लाईडर रहेको उक्त प्याराग्लाइडिङको क्षमता भने दिनमा २५ वटा फ्लाइट गर्न सक्ने रहेको छ । गोदावरीको २ हजार १ सय मिटरमाथि चापाखर्कबाट सुरु हुने प्याराग्लाइडिङ १ हजार ६ सय मिटरको उचाइमा रहेको रचनटारमा आएर ल्याण्ड हुन्छ ।

काठमाडौंबाट १५ किलोमिटर गोदावरी वनभोजस्थलमा गाडीको सहज यात्रापछि करीब झण्डै पाँच किलोमिटर जङ्गलको कच्ची बाटो उकालो लागेपछि आउँछ चापाखर्क । यहाँबाट १५ देखि ३० मिनेटको उडान भर्न सकिन्छ । हावाको बेगमा भर पर्ने भएकाले कहिलेकाहीँ उडान लम्बिन सक्छ भने कहिले नहुन पनि सक्छ ।

उडानका लागि सरकारले निश्चित क्षेत्र तोकेको छ । त्योभन्दा बाहिर जान पाउँदैन । अहिले प्रारम्भिक चरणमा दैनिक २ देखी ५ वटा सम्म उडान भर्दै आएको छ । कुनै दिन २० वटा सम्म उडान भरेको अनुभव रहेको पन्तले बताए ।

प्याराग्लाइडिङ चढ्न नेपालीलाई फोटो, भिडियो र काठमाडौं आउने जाने यातायातसम्म जोडेर ८ हजार शुल्क लाग्ने भए पनि अहिले प्रवद्र्धन समय रहेकाले विशेष छुट गरी ६ हजार ५ सयमा उडान गरिरहेको निर्देशक पन्तले जानकारी दिएका छन । विदेशीलाई भने ११ हजार ३ सय शुल्क रहेको समेत उनले जानकारी दिए ।

नगरकोटबाट देखिने सबै हिमाल देखिने र सुन्दर उपत्यकासमेत नियाल्न पाउने भएकाले पनि यहाँ प्याराग्लाइडिङ गर्दाको मजा छुट्टै छ । उपत्यका नजिकै शङ्करापुरमा पनि अहिले प्याराग्लाइडिङ सञ्चालनमा छ । नेपालमा करीब २ सय पाइलट छन भने ६५ प्याराग्लाइडिङ कम्पनी छ ।

८ वर्षदेखि उडान भर्दै आएका पाइलट बवि राउतले हरेक क्षेत्रको आआफ्नै विशेषता भएको बताउँदै हरियाली वनजङ्गल, उपत्यकाको दृष्यावलोकन र हिमशृङ्खला अवलोकनका लागि गोदावरी महत्वपूर्ण गन्तव्य भएको बताए / रासस

प्रतिक्रिया दिनुहोस्