Logo

बक्यौता रकम असुलीबाट पछि हट्दै त्रिभुवन विमानस्थल, कसले तिर्छ साढे २ अर्ब ?

बक्यौता रकम असुलीबाट पछि हट्दै त्रिभुवन विमानस्थल, कसले तिर्छ साढे २ अर्ब ?



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले बन्द भएका विभिन्न एयरलाईन्सले तिर्न बाँकी बक्यौता रकम उठाउन नसक्ने भएको छ । हाल कुल साढे २ अर्ब रुपैयाँ बक्यौता रकम रहेकोमा बन्द भएका एयरलाईन्स तथा विभिन्न कम्पनीबाट सो रकम उठाउन नसकिने अवस्थामा पुगेको विमानस्थल श्रोतले जानकारी दिएको छ ।

विमानस्थलले विगतमा संचालनमा आएर बन्द भएका राष्ट्रिय तथा अन्तरराष्ट्रिय एयरलाईन्सहरु बाट मात्रै करिब ३९ करोड ३१ लाख ३० हजार रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ ।

जसमा संचालनमा आएर बन्द भएका गल्फ एयर, एयर एसिया, किङ्ग फिसर एयरलाईन्सले उक्त बक्यौता रकम नतिरेकोे विमानस्थलले जानकारी दिएको हो । यसैगरी संचालनमा नरहेका तर पुराना बक्यौता रकम उठाउनु बाँकी रहेकोमा युनाईटेड एयरवेज, सिंगापुर, पाकिस्तान, ओरियन्टल एयरवेज, र्याक, लुफथान्स लगायत करिब १७ ओटा एयरलाईन्सहरु रहेका छन ।

यसैगरी बन्द भईसकेका तर बक्यौता रकम उठाउनु पर्ने आन्तरिक एयरलाईन्सहरुमा भने एयर काष्ठमण्डप, एयर नेपाल, अल्पाईन, कस्मिक, गरुड, गोर्खा, कर्णाली, मुक्ती, नेकोन एयर लगायत १२ ओटा एयरलाइन्स रहेको नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

हाल विमानस्थलमा संचालनमा रहेका करिब ३४ ओटा संघसंस्थाबाट पनि ठूलो मात्रामा बक्यौता रकम उठाउन बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । जसमध्ये कृष्ण ट्रान्सपोर्टबाट मात्रै १ करोड ४६ लाख ५३ हजार ६ सय ३ रुपैयाँ रहेको छ भने कम्ल्पिट कन्ट्रयाक्ट कम्पनी प्रालिको १९ लाख रुपैयाँ भन्दा माथी रहेको छ ।

विमानस्थल भन्सार विभागले मात्रै विमानस्थललाई तिर्नु पर्ने बक्यौता रकम ८५ करोड रुपैयाँ रहेको छ । तर यी संस्थाहरु सरकारी निकाय भएकाले बक्यौता रकम उठाउन सकिन्छ या सकिँदैन भन्नेमा दुविधा रहेको पौडेलले जानकारी दिए । पुरानो बक्यौता रकम उठाउँदै आईरहेको विमानस्थलले पटक पटक ताकेका गर्दा पनि बन्द भएका एयरलाईन्स कम्पनीले बक्यौता नतिरेपछि अबका दिनमा उठाउन नसकिने निष्कर्ष निकालेको हो ।

‘हालसालै बन्द भएका एयरलाईन्सहरुबाट त रकम उठाउन सकिएला तर पुरानो एयरलाईन्सहरुबाट रकम उठाउन सकिँदैन,’ विमानस्थलका एक उच्च अधिकारीले बिजखबरसँग कुरा गर्दै भने, ‘करिब १० बर्ष अघि बन्द भएका एयरलाईन्सहरुले बक्यौता रकम दिन्छ भन्ने लागेको छैन ।’

विमानस्थलले त्यस्तो बक्यौता रकम उठाउनका लागि बारम्बार ताकेता गरेपनि सम्पर्कमा नआएको जसले गर्दा उठाउन नसकिने निष्कर्षमा पुगेको समेत विमानस्थल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्