Logo

४ महिनापछी पर्यटन बोर्डले गर्याे पौने २ अर्बको बजेट पारित, प्राथमिकतामा बजार व्यवस्थापन

४ महिनापछी पर्यटन बोर्डले गर्याे पौने २ अर्बको बजेट पारित, प्राथमिकतामा बजार व्यवस्थापन



काठमाडौं । नेपाल पर्यटन बोर्डले आव २०७५/७६ का लागि करिब १ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।

बोर्ड सञ्चालक समितिले आर्थिक वर्ष शुरु भएको करीब चार महीनापछि बजेट स्वीकृत गरेको हो । बजेटले पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन, जनसम्पर्क एवं प्रचारप्रसारलाई विशेष प्राथमिकता दिएको छ ।

बोर्डका कर्पोरेट सेवा विभागका निर्देशक सन्तोष पन्तका अनुसार प्रवद्र्धनमा ३७ करोड ३५ लाख रुपैयाँ, प्रचारप्रसारमा ३२ करोड ५६ लाख ५० हजार बजेट खर्च गरिनेछ ।

त्यसैगरी पर्यटन सम्पदा तथा संशोधन विकासमा २४ करोड ३९ लाख ५० हजार, बोर्डको पोखरा कार्यालयका लागि ७६ करोड ६५ लाख विनियोजन गरिएको छ । हिमालयन ट्राभल मार्टका लागि २० करोड, बुद्धिष्ट ट्राभल मार्टका लागि १० करोड, नेपाल भ्रमण वर्ष २०२० को सचिवालयतर्फ ५० लाख तथा कार्यकारी समितिको निर्णयबाट गरिने कार्यक्रमममा ३ करोड बजेट छुट्याइएको छ ।

बोर्डले गतवर्ष १ अर्ब ३७ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा बजार प्रवद्र्धनका लागि ३३ करोड ८० लाख बजेट छुट्याएको थियो ।
बोर्ड सञ्चालक समिति सदस्य दीपक महतका अनुसार सञ्चालक समितिभित्रको आन्तरिक विवाद र पर्यटन मन्त्रालयले चाँडो निर्णय नदिँदा बजेट स्वीकृतिमा ढिलाइ भएको थियो । बजेट समयमा पारित नहँुदा बोर्डका कतिपय प्रवद्र्धनात्मक काम सुस्त भएको गुनासो हुँदै आएको थियो ।

बोर्डले नेपाल भ्रमण वर्षलाई लक्षित गरी चीन र भारतमा बढी भन्दा बढी पर्यटक आकर्षण गर्ने गरी प्रवद्र्धनात्मक कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL