Logo

ईआईएमै रोकियो नागीडाँडा विमानस्थलको फाईल, प्रतिवेदनको पर्खाईमा प्राधिकरण

ईआईएमै रोकियो नागीडाँडा विमानस्थलको फाईल, प्रतिवेदनको पर्खाईमा प्राधिकरण



काठमाडौं । सरकारले वैकल्पिक विमानस्थलको रुपमा नागीडाँडालाई आन्तरिक विमानस्थल बनाउने काम रोकिएको छ ।

सरकारले विमानस्थल बनाउन काम अघि सारे पनि वातवरण प्रभाव मूल्याङकन (इआइए) माहाशाखाले प्रतिवेदन नदिँदा अन्यौलमा परेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले गत असारमै इआइएका लागि फाईल पेश गरे पनि अहिलेसम्म सोको प्रतिवेदन नआएको प्राधिकरणले जानकारी दिएको हो ।

प्राधिकरणले परामर्श तथा सल्लाह शिर्षकमा नागीडाँडा विमानस्थलको लागि ५० लाख रुपैया रकम समेत विनियोजन गरेको छ । तर, माहाशाखाबाट ६ महिना वितिसक्दा पनि ईआईए प्रतिवेदन नदिएकै कारण कुनै काम अघि बढाउन नसकिएको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए । उनका अनुसार प्रतिवेदन आए पछि प्रस्तावित विमानस्थलको जियो टेक्निकल स्टडी, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा मुआब्जको काम सुरु गरिने छ ।

नागीडाँडा विमानस्थल बनाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले गत बैशाखमा अध्ययन भ्रमण गरेका थिए । भ्रमणको क्रममा मन्त्री अधिकारीले ७५ प्रतिशत जग्गा सरकारको रहेको र २५ प्रतिशतमात्र मुआब्जा दिए पुग्ने बताएका थिए । साथै मन्त्री अधिकारीले विमानस्थल निर्माणका लागि जनताको शतप्रतिशत साथ रहेको र स्थान पनि उपयुक्त भएकाले आन्तरिक उडानका लागि विमानस्थल बनाउन सहज हुने बताउँदै आएका छन ।

मन्त्री अधिकारीले आन्तरिक उडानको लागि काभ्रेको नागीडाँडा, ठूलीचौर र देविस्थान ठूलीचौरको अध्ययन गरेको थियो । मन्त्री अधिकारीको भ्रमण पछि गत बैशाखमै ६ सदस्यीय अध्ययन टोली समेत गठन गरी सरकारले हेरेको उक्त ३ स्थानको अध्ययन गर्दै अध्ययन टोलीले नागीडाँडानै उपयुक्त भएको प्रतिवेदन बुझाएको थियो ।

उक्त टोलिले ८ सय मिटरको रनवे बनाउन साढे ३ अर्ब तथा १२ सय मिटरको रनवे बनाउन साढे ५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरे पनि प्रतिवेदनमा भने उल्लेख गरिएको थिएन । उक्त विमानस्थल बनाउन भने निर्माण सुरु गरेको ४ देखी ५ बर्ष भित्रमा सम्पन्न गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्