काठमाडौं । प्रदेश नं १ मा हिमाल हेर्नका लागि स्वदेशी तथा विदेशीलाई सहज रुपमा अवलोकन गर्न आजदेखि हिमाली उडान (माउन्टेन फ्लाइट) शुरु गरिएको छ ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट अवलोकन गरेका छन ।
मुख्यमन्त्री राईले प्रदेशको समृद्धका लागि पर्यटन क्षेत्रको विकास महत्वपूर्ण रहेको बताएका छन । माउन्टेन फ्लाइटबाट अवलोकन पश्चात आयोजित कायक्रममा उनले यस प्रकारको उडानबाट पर्यटन व्यवसायको विकासमा सहयोग पुग्ने बताएका छन ।
प्रदेशभित्र रहेका पर्यटन क्षेत्रको प्रवर्धन र विकास गर्न प्रदेश सरकार लागि परेको बताउँदै उनले छिमेकी मुलुकका पर्यटक आवागमबाट पर्यटन व्यवसायी र रोजगारीमा वृद्धि हुने धारणा व्यक्त गरेका हुन ।
प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक रहेकाले सरकार हातेमालो गर्न तयार रहेको समेत राईले बताएका छन । मुख्यमन्त्री राईले हिमाली उडान नियमित गर्न सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन ।
यति एयरलाइन्सको भाडामा लिइएको उक्त विमानबाट प्रत्येक शनिबार बिहान हिमाल उडान हुने बताइएको छ । छिमेकी देश भारतका पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश र बङ्गलादेशका पर्यटक उक्त उडानबाट लाभान्वित हुने विराट होलिडेजका अध्यक्ष भविष्कुमार श्रेष्ठले बताएका छन ।
हिमाल उडान ५५ मिनेटको हुने छ । नेपाली तथा भारतीयलाई ९ हजार ९ सय रुपैयाँ शुल्क कायम गरिएको छ भने अन्य देशका पर्यटकका लागि १ सय ५६ अमेरिकी डलर रहेको छ ।
उक्त उडानवाट प्रदेशमा रहेका ८ हजार मिटरमाथिका हिमशृङ्खला अवलोकन गर्न पाइने छन । काठमाडौंबाट हिमाली उडानका लागि प्रति यात्रु ११ हजार ६ सय ३५ तिर्नुपर्ने छ ।